काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगमा ल्याइँदैछ ।
गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले बुधबार लामिछानेलाई जेन–जी आन्दोलनको क्रममा नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे स्पष्टीकरणका लागि बोलाएको हो ।
कारागार स्रोतका अनुसार आयोगले सोधपुछका लागि झिकाउन अनुरोध गरेपछि लामिछानेलाई अहिले प्रहरीको निगरानीमा कारागारबाट सिंहदरबारतर्फ लगिँदैछ ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका कारण पुर्पक्षका लागि कारागारमा रहेका थिए । तर गत २४ भदौमा असुरक्षाको कारण देखाउँदै उनी अन्य कैदीबन्दीसँगै केही समयका लागि कारागारबाट बाहिर निस्किएका थिए ।
सो घटनापछि कारागार प्रशासनले दिएको भनिएको पत्रको प्रामाणिकतामाथि प्रश्न उठेको थियो, जसपछि लामिछाने पुनः कारागार फर्किएका थिए ।
आयोगको टोली गत सोमबार सो घटनाको वस्तुस्थिति बुझ्न नख्खु कारागार पुगेको थियो । त्यसअघि आयोगले कारागार प्रमुख सत्यराज जोशीसहित सम्बन्धित अधिकारीहरूसँग पनि बयान लिएको थियो ।
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया