काठमाडौं । बुधबार घोषणा हुने नेपाली कम्युनिस्ट पार्टीमा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई तेस्रो वरियता दिइने निश्चित भएको छ।
बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अन्य शीर्ष नेताहरूबीच गरिएको छलफलमा खनाललाई तेस्रो वरियतामा राख्ने सहमति भएको हो।
स्रोतका अनुसार, यसअघि बामदेव गौतमलाई तेस्रो वरियतामा राखिएको थियो भने विभिन्न घटकबीच हुने एकताप्रति खनालले असन्तुष्टि देखाएका थिए। तर अन्ततः उनी भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा सहभागी भएका छन्।
एकता वार्तामा सहभागी एक नेताका अनुसार, बुधबार बिहानको छलफलपछि खनाल तेस्रो वरियतामा रहेर नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन सहमत भएका हुन्। नयाँ पार्टीमा प्रचण्ड पहिलो, माधवकुमार नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, बामदेव गौतम चौथो र नारायणकाजी श्रेष्ठ पाँचौं वरियतामा रहने निश्चित भएको छ।
खनालले हिजोमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए। प्रारम्भमा पार्टी पुनर्गठन प्रक्रियामा लाग्ने योजना राखेका खनाल अन्ततः प्रचण्ड–माधव समूहतिर सहमत भई लागेका हुन्।
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया