काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महेन्द्र राय यादवले एकीकृत कम्युनिस्ट पार्टीले तय गरेको लक्ष्य अब अवश्य पूरा हुने विश्वास व्यक्त गरेका छन् ।
बुधबार भृकुटीमण्डपमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले विगतमा अलग-अलग रहेका राजनीतिक शक्तिहरू अहिले एउटै दिशामा केन्द्रित भएकाले अब एकीकृत पार्टीले आफ्नो उद्देश्य हासिल गर्ने दाबी गरे ।
उनले आज एकतामा आएका १० राजनीतिक घटकहरूलाई महाभारतका पात्रसँग तुलना गर्दै भने, ‘महाभारतमा पाण्डव पाँच भाइ थिए, उनीहरूले कौरवहरूलाई पराजित गरे । हामी त आज १० भाइ भइसकेका छौं, हाम्रो जित पक्का छ ।’
अध्यक्ष यादवले देश हाल गम्भीर संकटमा रहेको उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउन सबै कम्युनिस्ट शक्तिको एकता अपरिहार्य भएको बताए । उनले विगतमा पनि माओवादीसँग पार्टी एकताको लागि पटक–पटक छलफल भएको स्मरण गर्दै भने, ‘मैले प्रचण्डजीलाई भनेको थिएँ, तपाईंहरूको महाधिवेशनका बेला म पनि त्यहीँ आइपुग्छु । आज त्यो कुरा सत्य भएको छ । म १८ वर्षपछि फेरि मार्क्सवादको बाटोमा फर्किएको छु ।’
यादवले कम्युनिस्ट आन्दोलनमा देखिएको विभाजनको मूल कारण आन्तरिक लोकतन्त्रको अभाव भएको उल्लेख गर्दै पार्टी सञ्चालनमा सामाजिक न्याय र समान अवसरको सिद्धान्तलाई मुख्य बनाउनु पर्ने बताए ।
उनले देश बहुभाषिक र बहुधार्मिक भएको स्मरण गराउँदै पार्टीभित्र पनि त्यही विविधता प्रतिबिम्बित हुनुपर्नेमा जोड दिए । ‘यदि पार्टीले देशको वास्तविक स्वरूप नझल्कायो भने, त्यो एकता टिक्दैन,’ उनले चेतावनी दिए ।
साथै उनले मुलुकलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लैजानुपर्ने आवश्यकता औंल्याए । उनले जेन–जी आन्दोलनले पुनः उठाएको यो मुद्दालाई अब प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रूपमा नेतृत्व गरेर अघि बढाउनुपर्ने बताउँदै सम्बोधन टुंग्याए ।
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया