काठमाडौं । चार वर्षअघि नेकपा (एमाले) बाट अलगिएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) औपचारिक रूपमा तीन भागमा विभाजित भएको छ। अध्यक्ष नेपालसहितको बहुमत समूहले माओवादी केन्द्रलगायत अन्य वाम दलहरूसँग पार्टी एकताको बाटो रोजेपछि पार्टी तीन धारमा चिरिएको हो।

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा लगायतका नेताहरू अब नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’ मा आबद्ध भएका छन्।

advertisement

त्यस्तै, महासचिव घनश्याम भुसाल नेतृत्वको समूहले भने एकीकृत समाजवादीलाई पुनर्गठन गरी नयाँ ‘क्रान्तिकारी पार्टी’ निर्माण गर्ने घोषणा गरेको छ। भुसाल पक्षमा वरिष्ठ नेता घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ र दामोदर अर्याललगायत नेताहरू रहेका छन्। उनीहरूले बुधबार पत्रकार सम्मेलन गर्दै मंसिरमा राष्ट्रिय सम्मेलन आयोजना गरी नयाँ संरचना सार्वजनिक गर्ने तयारी रहेको जनाएका छन्।

तेस्रो धारका रूपमा नेतृ रामकुमारी झाँक्रीको समूह अलगिएको छ। बुधबारै उनले पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीसँगको राजनीतिक यात्रा अन्त्य भएको घोषणा गरिन्। उनको समूहले तत्काल नयाँ संगठन निर्माण नगर्ने भए पनि एमालेमा पुनः फर्कने सम्भावना उच्च देखिएको छ।

२०७८ सालमा एमाले विभाजनको क्रममा माधव नेपाललाई प्रमुख सहयोगीका रूपमा देखिएकी झाँक्रीको यो कदमपछि विश्लेषकहरूका अनुसार ‘एकीकृत समाजवादी’ नामको पार्टी अब औपचारिक रूपमा अस्तित्वहीन बन्दै गएको छ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com