काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले हालै एकीकृत बनेको कम्युनिष्ट पार्टीले जेन-जी पुस्ताले उठाएका विद्रोहात्मक चेतना र मागहरूलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने बताएका छन्।
बुधबार आयोजित कम्युनिष्ट घटकहरूको एकता घोषणा सभामा सम्बोधन गर्दै श्रेष्ठले नयाँ पुस्ताले परम्परागत राजनीतिक अभ्यासप्रति देखाएको असन्तुष्टि र सुधारको चाहनालाई यथार्थ रूपमा बुझ्न नेतृत्व तह सक्षम हुनुपर्ने बताए।
उनले भने, हाम्रो पार्टीले जेन-जी पुस्ताले उठाएको विद्रोहात्मक चेतना ग्रहण गर्नुपर्छ। उनीहरूले भ्रष्टाचारविरुद्धको आवाज, सुशासन, राजनीतिक स्थिरता, दलहरूको शुद्धीकरण र समृद्धिको एजेन्डा उठाएका छन् यी नै आज देशका मूल आवश्यकता हुन्।
श्रेष्ठका अनुसार, युवापुस्ताका माग र विचारलाई नारामा मात्र सीमित राख्ने हो भने पार्टी अघि बढ्न सक्दैन। उनले संगठन संरचनामा नै परिवर्तन गरी जेन-जी पुस्तालगायत युवाहरूलाई निर्णायक भूमिकामा ल्याउनुपर्ने आवश्यकता औंल्याए।
हाम्रो पार्टीको संरचनामा नयाँ पुस्ताको प्रभावकारी सहभागिता सुनिश्चित गर्नैपर्छ, उनले भने, उनीहरूलाई अवसर नदिएसम्म र उनका मुद्दा आत्मसात् नगरेसम्म कम्युनिष्ट आन्दोलनलाई नयाँ जीवन दिन सकिँदैन।
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार












प्रतिक्रिया