काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले नयाँ पार्टीको एकताले नेपाली राजनीतिमा नयाँ उत्साह र तरंग ल्याउने दाबी गरेका छन् ।
बुधबार सम्पन्न १० वाम घटकको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आजको एकता नेपाली जनताका लागि नयाँ आशा र भरोसाको प्रतीक बन्ने विश्वास व्यक्त गरे। ‘यो एकता सिंगो नेपाली राजनीतिमा तरंग पैदा गर्नेछ,’ उनले भने, ‘अब हाम्रो अग्नि परीक्षा सुरु भएको छ। जनताका आशा–अपेक्षा पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ।’
पूर्वप्रधानमन्त्री नेपालले नवगठित पार्टीले पुरानो रूप–रङ्गमा सीमित नदेखिई नयाँ सोच र व्यवहारका साथ अघि बढ्नुपर्नेमा जोड दिए। ‘हामी पुरानो पार्टीको प्रतिरूप होइनौं,’ उनले स्पष्ट पारे, ‘आफ्ना कमीकमजोरीबाट सिक्दै, सुधार गर्दै, परिवर्तनका संवाहक बन्ने हाम्रो लक्ष्य हो।’
उनले नयाँ पार्टीलाई कान्तिकारी चरित्र बोकेको संगठनका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘हामीले जनतामा यो सन्देश दिनुपर्छ — यो पार्टी नयाँ सोच, नयाँ मार्ग र न्यायपूर्ण समाज निर्माणको लक्ष्य बोकेको छ।’
नेपालले केही वामपन्थी घटकहरू अझै पनि एकताको दायराबाहिर रहेको जनाउँदै, ती दललाई पनि एकतामा सहभागी गराउन प्रयास जारी रहेको जानकारी दिए। ‘हामीले सबै वामपन्थी शक्ति एक ठाउँमा ल्याउने प्रयास अघि बढाएका छौं,’ उनले भने, ‘अब पनि ढिलो नगरी एकताको यात्रामा सामेल हुन सबैलाई आग्रह गर्दछु।’
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया