काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन तयारी र राजनीतिक वातावरणबारे विस्तृत छलफल गरिएको थियो।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मूल भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई सुम्पिने प्रक्रियामा सरकार प्रतिबद्ध रहेको बताइन्। उनले सबै पक्षको सहकार्य र संवादमार्फत आगामी निर्वाचन सफल बनाउन सरकार सक्रिय रहेको उल्लेख गरिन्।

advertisement

त्यस अवसरमा पूर्वराष्ट्रपति यादवले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न निर्वाचन अपरिहार्य भएको बताउँदै सबै राजनीतिक दलले चुनावमा सहभागी हुनुपर्ने धारणा राखे। उनले भने, “राजनीतिक दलहरूले चुनावमा जानैपर्छ, लोकतन्त्रको निरन्तरताका लागि यो सर्वोत्तम बाटो हो।”

डा. यादवले सरकारले निर्वाचनका लागि गरेको तयारी, आवश्यक बजेट व्यवस्थापन र विभिन्न पक्षसँग गरेको संवादको प्रशंसा गरे। उनले नागरिक समाजसँग समेत छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिँदै नागरिक तहबाट पनि निर्वाचनमा सहभागिताको वातावरण बनाउन सहयोग मिल्ने विश्वास व्यक्त गरे।

भेटमा पूर्वराष्ट्रपति यादवले २०७० सालमा आफ्नो कार्यकालमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा भएको निर्वाचनको अनुभव साझा गर्दै त्यसबेलाको सुरक्षा अवस्था र भूराजनीतिक चुनौतीको प्रसङ्ग पनि स्मरण गरे। उनले यसपटक पनि सबै सुरक्षा निकायबीच समन्वय बलियो बनाउने आवश्यकतामा जोड दिए।

उनले दलहरू चुनावको अपरिहार्यता बुझिसकेका कारण फागुन २१ मा तय भएको निर्वाचनमा सबै सहभागी हुने विश्वास व्यक्त गर्दै भने, “चुनावको विकल्प छैन, यो प्रक्रियालाई कुनै पनि बहानामा रोक्नु हुँदैन।”

भेटमा अर्थमन्त्री रामेश्वर खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायत मन्त्रीहरू उपस्थित थिए। यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले पनि पूर्वराष्ट्रपति यादवसँग ललितपुरस्थित उनको निवासमा भेटवार्ता गरेका थिए।

सरकारले फागुन २१ को निर्वाचन सफल बनाउन राजनीतिक दल, नागरिक समाज र अन्य सरोकारवालासँगको संवादलाई तीव्रता दिएको जनाएको छ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com