काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा अब उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा उनीहरूविरुद्ध दर्ता भएको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको हो ।
बुटवलस्थित सुप्रिम सहकारीमा भएको ठगी प्रकरणमा लामिछानेमाथि चार भागमा बाँडिएको कुल १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगोमध्ये आफ्नो एक भाग बराबरको रकम दाखिला गरेर थुनामुक्त हुन माग गरिएको थियो । तर, जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उक्त निवेदन अस्वीकार गरेको थियो ।
जिल्ला अदालतको निर्णयविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा पुनर्विचारको माग गर्दै निवेदन दर्ता गराएका थिए । त्यसपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछाने र जोशी दुवैको निवेदन एउटै पेसीमा राख्ने आदेश दिएको थियो ।
लामिछानेले सहकारी ठगीको बिगोबापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतसहित निवेदन पेश गरेका थिए । सोही परिमाणको जमानत जोशीले पनि बुझाएका थिए । तर, अदालतले दुवैको हकमा ठ्याक्कै कति बिगो कायम हुने स्पष्ट नभएकाले थुनामुक्त गर्न नमिल्ने आदेश दिएको थियो ।
हाल पुर्पक्षका लागि रवि लामिछाने र छविलाल जोशी दुवै कारागारमा छन् । लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारमा सारिएको छ भने जोशी अझै पनि भैरहवामै रहेका छन् ।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया