बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा हुँदैछ ।
आज तोकिएको साप्ताहिक पेसीअनुसार न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा दुवै जनाको मुद्दा सुनुवाइमा पर्न लागेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन् ।
सुनुवाइ एक नम्बर इजलासको क्रम नम्बर ३ मा तोकिएको छ । यसअघि कात्तिक १३ गते निर्धारित पेसी जोशीका कानुन व्यवसायीको निवेदनपछि स्थगित भएको थियो । त्यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले रवि र जोशी दुवैको मुद्दा एउटै प्रकृतिको भएकाले संयुक्तरूपमा सुनुवाइ गर्न आदेश दिएको थियो ।
रविले बिगोअनुसारको रकम बुझाएर थुनामुक्त भई बाहिरैबाट मुद्दा लड्न पाउने माग गर्दै निवेदन दिएका थिए । त्यस क्रममा उच्च अदालतले जोशीको पनि फाइल एकैसाथ पेश गर्न आदेश गरेको थियो । यसअघि अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन पेश गर्न निर्देशन पनि दिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । त्यसपछि उनले भदौ ९ गते उच्च अदालतमा पुनर्विचारका लागि निवेदन दर्ता गराएका थिए ।
सुप्रिम सहकारी प्रकरणमा रविसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरिएको छ । लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भाग बराबरको रकम — करिब २ करोड ७४ लाख ८४ हजार रुपैयाँ — बैंक जमानतसहित दाखिला गरेका थिए ।
रविले आफू सहकारीका शेयरधारक, सञ्चालक वा ऋणी नभएको स्पष्ट गर्दै कुनै ऋण नलिएको र बचत रकम अपचलन नगरेको दाबी गर्दै आएका छन् ।
हाल उनी पुर्पक्षका लागि कारागारमा छन् भने जोशी पनि त्यही प्रकरणमा थुनामा रहेका छन् ।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया