काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणमा बिगो बापतको धरौटी राखेर रिहा हुन माग गरेका रास्वपा अध्यक्ष तथा सञ्चारकर्मी रवि लामिछानेको निवेदनमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सुनुवाइ सुरु भएको छ।
न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा लामिछानेको निवेदन तेस्रो नम्बरमा पेसी तोकिएको थियो। पहिलो दुई मुद्दामा आदेश जारी भएपछि लामिछानेको निवेदनमा सुनुवाइ सुरु भएको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।
लामिछानेसँगै सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीको निवेदन पनि एउटै इजलासमा राखिएको छ। दुवैजनामाथि समान प्रकृतिको आरोप रहेको र उनीहरू हाल थुनामा रहेका छन्।
यसअघि जिल्ला अदालत रुपन्देहीले जोशीलाई थुनामा पठाउने आदेश दिएर धरौटीमा रिहा नगरेको थियो। त्यतिबेला अदालतले लामिछानेसँग एक करोड रुपैयाँ धरौटी मागेको थियो। सो आदेशविरुद्ध दुवैजनाले उच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए।
उच्च अदालतले पनि जोशीलाई थुनामा राख्ने आदेश सदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो। सर्वोच्च अदालतले समेत सो आदेशलाई सदर गरेपछि लामिछाने अहिले पनि कारागारमै छन्।
यसअघि बिगोबापतको धरौटी राखी रिहा गरियोस् भनी उनले जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए, तर जिल्ला अदालतले उक्त माग अस्वीकार गरेपछि लामिछानेले उच्च अदालतको ढोका ढोकेको हो।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया