काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक खड्काले पार्टीभित्र नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

सानेपामा आज भएको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै खड्काले भने, विसं २०८३ जेठभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी पार्टी अघि बढ्नुपर्छ। नियमित महाधिवेशनले वडा तहदेखि केन्द्र तहसम्म पार्टीलाई क्रियाशिल बनाउँछ।

advertisement

उनले पार्टी एकतामा जोड दिँदै राष्ट्रिय धर्मको व्यवस्थासहित निर्वाचनमा जानुपर्ने धारणा राखेका छन्। खड्काका अनुसार, पार्टी कमजोर हुँदा राष्ट्रियता जोखिममा पर्छ, नागरिक असुरक्षित हुन्छन् र लोकतन्त्रमाथि खतरा आउँछ। त्यसैले पार्टीभित्र सबै पक्ष एकताबद्ध हुनुपर्ने उनले बताए।

खड्काले महाधिवेशनका लागि केन्द्रीय पदाधिकारी वुथबाट प्रतिनिधि भएर आउने व्यवस्था गर्नुपर्ने, पार्टीका सबै तहमा कम्तिमा १० प्रतिशत सिट जेनजी पुस्ताका लागि सुरक्षित गर्नुपर्ने, विधान समयानुकूल बनाउन विधायन संशोधन समिति तत्काल गठन गर्नुपर्ने सुझाव दिएका छन्।

त्यस्तै, महाधिवेशनका लागि क्रियाशिल सदस्यता छानविन समिति गठन, राष्ट्रिय पुँजी निर्माणको नेतृत्वका लागि सहकार्य, र कमजोर अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन प्रष्ट नीति आवश्यक रहेको उनले बैठकमा उल्लेख गरे।

पूर्वमन्त्री खड्काले गत भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनले पार्टीका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाप्रति भएको आक्रमणको घोर भत्र्सना गर्दै, पार्टीले समयमा बोलेन भन्ने दुःख व्यक्त गरे।

खड्काले जेनजी पुस्ताको माग सम्बोधन नगरेको र २४ गतेको घटनालाई राष्ट्र, लोकतन्त्र र अर्थतन्त्रमाथि हमला भएको उल्लेख गर्दै, घटनामा संलग्न कांग्रेसीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखे।

उनले मुलुकमा शान्ति सुरक्षा कायम गर्न प्रत्येक वडामा ‘नागरिक सुरक्षा समिति’ गठन गर्नुपर्ने, विध्वंस घटनालाई राष्ट्रमाथि आतंकवाद मान्ने, पुँजी पलायन रोक्न र आर्थिक सवलीकरणका उपाय अवलम्बन गर्नुपर्ने बताए।

साथै, वर्तमान सरकार अवैधानिक रहेको घोषणा गर्दै, संसद् मार्फत अनुमोदन हुने स्वतन्त्र सरकार गठन गरी २०८३ मंसीरमा निर्वाचनको तयारी गर्नुपर्ने र संसद् पुनःस्थापना गरी निर्वाचन वैधानिक बनाउनुपर्ने उनको धारणा बैठकमा प्रस्तुत भयो।

खड्काले भ्रष्टाचारमुक्त सुशासन कायम गरी जिम्मेवार कर्मचारीतन्त्र निर्माण, पार्टी विभाजन रोक्ने र सहमति कायम गर्ने कार्यमा कांग्रेस नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने जोड पनि दिएका छन्।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com