काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जेनजी आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहका प्रतिनिधिहरुलाई सुझाव दिएका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच आज यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका डा भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई वर्तमान सरकारले संस्थागत गर्नुपर्नेमा जोड दिए ।
यो रुपान्तरीत आन्दोलनलाई संस्थागत गर्न औपचारिक रूपमा सरकारसँग लिखित सम्झौता गर्ने तर्फ जोड दिनुहोस्, उनले भने, संस्थागत गर्नुभएन भने यो ऐतिहासिक आन्दोलन विलाएर जाने खतरा छ ।
साथै उनले जेनजीका विभिन्न प्रश्नको जवाफ दिएका थिए । पहिलो चरणको संविधान लेखन विफल भएको र दोस्रो चरणका संविधान लेखनमा आफ्नो पार्टीको शक्ति कमजोर भएकाले संविधान अपुरो भएको उनको भनाइ थियो । उनले भने, अब यो अपुरो संविधानलाई पुरा गर्ने काम जेनजीको हो ।
पार्टीका संयोजक दुर्गा सोबले विगतमा पार्टीले समाज सुहाउँदो मुद्दामा विचार विमर्श गर्दै आएको बताउँदै अब जेनजी आन्दोलनले देखाएको रुपान्तरणकारी मार्गमासमेत सहकार्य गरेर वैकल्पिक राजनीतिक शक्तिको रूपमा देखापर्ने बताए ।
कार्यक्रममा सान्तेन राई, प्रभात लाभ, अर्णव चौधरी, विकास रसाइली, अमित खनाल ऊर्जा, प्रदिप पाण्डे, माजिद अन्सारीलगायतका जेनजी समूहका अगुवाले आफ्ना धारणा राखेका थिए ।
- रासस
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया