काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा दीर्घकालीन रूपमा फैलाइएको घृणाको परिणामस्वरूप २४ भदौको आगजनी र तोडफोडको घटना भएको टिप्पणी गरेका छन् ।

भक्तपुरको गुन्डुस्थित आफ्नो निवासमा बिहीबार पार्टीका नेता–कार्यकर्तासँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले देशमा देखिएको असहज अवस्थाको मूल कारण समाजमा बिस्तारै फैलाइएको घृणा र द्वेष भएको बताए ।

advertisement

उनले भने, ‘हाम्रो संस्कृतिमा सम्मानका साथ बोल्ने र अरूलाई आदर गर्ने परम्परा छ । तर, केही समययता अपशब्द बोलेर, लेखेर घृणा फैलाउनेहरूले समाजलाई भताभुंग पार्ने प्रयास गरे । त्यसैको चरम रूप २४ भदौको आगजनी हो — जहाँ मान्छेलाई राक्षसमा परिणत गरेर विनाश मच्चाइयो।’

ओलीका अनुसार सामान्य मानिसले त्यसरी आगजनीजस्ता अमानवीय कार्य गर्न सक्दैनन् । उनले भने, ‘मान्छेले मान्छे भएर यस्तो गर्न सक्दैन । जब मानिसलाई घृणाले अन्धो पारिन्छ, तब ऊ राक्षस बन्छ र आगो लगाउँछ । अहिले देशमा त्यही भएको हो।’

पूर्वप्रधानमन्त्री ओलीले घृणा र असभ्य व्यवहार फैलाउने अभियानमा केही जिम्मेवार व्यक्तिहरूको पनि भूमिका रहेको आरोप लगाए । उनले प्रत्यक्ष नाम नलिए पनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहतर्फ संकेत गर्दै भने, ‘स्टाटस लेख्दा नेपालीले बोल्ने भाषा प्रयोग हुन्छ ? अपशब्द र असभ्य भाषा हाम्रो संस्कृतिभित्र पर्दैन । असहमति राख्दा पनि सभ्य ढङ्गले राख्ने हाम्रो परम्परा हो, तर अहिले त्यसको स्थान अशिष्टताले लिँदैछ।’

केही दिनअघि मेयर बालेनले सामाजिक सञ्जालमा अशोभनीय शब्द प्रयोग गरेर स्टाटस लेखेका थिए, जसप्रति व्यापक आलोचना भएपछि उनले केही समयमै पोस्ट हटाएका थिए ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष ओलीले देश हाल अत्यन्त संवेदनशील र असहज अवस्थाबाट गुज्रिरहेको बताउँदै राष्ट्रिय एकता र संयम आवश्यक रहेको बताएका थिए ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com