काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन पूर्ण रूपमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने प्रतिबद्धता जनाएकी छन्। उनले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन सम्पन्न गराउने आफ्नो लक्ष्य रहेको स्पष्ट गरेकी हुन्।

द एसियन नेटवर्क फर फ्री इलेक्सन्स (आन्फ्रेल)को प्रतिनिधिमण्डलसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरकार पूर्ण रूपमा तयार रहेको बताइन्।

advertisement

आन्फ्रेल थाइल्यान्डको बैंककस्थित सचिवालय भएको अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक सञ्जाल हो। सचिवालयकी कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वमा आएको टोलीले नेपालमा निर्वाचन वातावरणको मूल्यांकन गरिरहेको छ।

भेटमा प्रतिनिधिमण्डलका सदस्यहरूले लामो न्यायिक अनुभव भएकी प्रधानमन्त्री कार्कीको नेतृत्वमा निष्पक्ष र पारदर्शी निर्वाचन हुने विश्वास व्यक्त गरे।
तपाईंको न्यायिक पृष्ठभूमिले स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव हुनेमा हामी विश्वस्त छौं, जसले लोकतान्त्रिक संस्थाहरूलाई थप सुदृढ बनाउनेछ, प्रतिनिधिमण्डलको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय समुदायको चासोले निर्वाचनको माहोल औपचारिक रूपमा सुरु भइसकेको महसुस भएको प्रतिक्रिया दिइन्।
“हाम्रो मुख्य उद्देश्य निर्वाचन सम्पन्न गर्नु हो। त्यसका लागि हामी पूर्ण रूपमा केन्द्रित छौं,उनले भनिन्,सकारात्मक वातावरण बनाउन नागरिक समाज र पर्यवेक्षकहरूको सहयोग महत्वपूर्ण हुन्छ। तपाईंहरूको उपस्थितिले निर्वाचनको प्रारम्भ भएको अनुभूति दिलाएको छ।

भेटमा आन्फ्रेलका प्रतिनिधिहरूसँगै नेपालका स्थानीय निर्वाचन पर्यवेक्षक सञ्जाल (नियोक) का पदाधिकारी र सदस्यहरू पनि सहभागी थिए। उनीहरूले विशेषगरी पहिलो पटक मतदान गर्ने युवा मतदाताहरूमा देखिएको उत्साहलाई ध्यानमा राख्दै मतदाता शिक्षामा थप ध्यान दिन सुझाव दिए।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com