काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक १९ गतेको एकता घोषणा सभाले विश्वभर सशक्त सन्देश पठाएको बताएका छन्।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले बिहीबार आयोजना गरेको राष्ट्रियस्तरको ‘भर्चुअल प्रशिक्षण कार्यक्रम’लाई सम्बोधन गर्दै संयोजक प्रचण्डले रणनीतिक सोच र दीर्घकालीन लक्ष्यका साथ वाम एकता घोषणा गरिएको बताए। उनका अनुसार, यो एकता लोकतान्त्रिक मूल्य र गणतन्त्रका पक्षमा तथा ती समाप्त पार्ने शक्तिहरूका विरुद्ध गरिएको ऐतिहासिक पहल हो।
उनले भने, यो वाम एकता लोकतन्त्र र गणतन्त्र सुदृढ पार्ने निर्णायक कदम हो। जेन–जी आन्दोलनपश्चात् मुलुकमा उत्पन्न राजनीतिक सङ्कट समाधान र संविधान संरक्षणका लागि यो ऐतिहासिक अवसर हो।
प्रचण्डले १९ गतेको एकता घोषणासभालाई लोकतान्त्रिक वाम शक्तिहरू एकजुट भएर ‘बृहत् राष्ट्रिय एकताको आधार’ निर्माण गर्ने दिशामा भएको ठोस कदमका रूपमा व्याख्या गरे। उनका अनुसार निर्वाचनको वातावरण बनाउन, राष्ट्रिय सङ्कट समाधान गर्न र जनतामा राजनीतिक विश्वास पुनर्स्थापित गर्न नेकपाले अब निर्णायक भूमिका खेल्नुपर्ने जिम्मेवारी पाएको छ।
उनले थपे, कम्युनिष्ट एकताले जनतामा नयाँ भरोसा र ऊर्जा पैदा गरेको छ। अहिले यही एकता प्रगतिशील शक्तिहरूबीच ध्रुवीकरणको बाटो खोल्ने निर्णायक कारक बनेको छ।
सरकारका गलत नीतिहरू र निर्णयका कारण जेन–जी आन्दोलन जन्मिएको उल्लेख गर्दै उनले त्यसबाट पाठ सिकेर जनमुखी शासन स्थापनाको बाटोमा अघि बढ्नुपर्ने बताए।
शिक्षक र कर्मचारीका जायज मागहरू पूरा गर्न सरकार, संसद् र सडक सबैतिरबाट प्रयास भइरहे पनि पछिल्ला सरकारहरू त्यसप्रति अनुदार बनेको उनको भनाइ थियो। उनले शिक्षक र कर्मचारी वर्गलाई आगामी निर्वाचनमा जनचेतना र संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रह गरे।
संयोजक प्रचण्डले फागुन २१ गते हुने निर्वाचनको तयारीका लागि सरकारले दत्तचित्त भएर लाग्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रिय एकता र राजनीतिक स्थायित्व नै अहिलेको प्रमुख प्राथमिकता भएको बताए।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया