सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवा मृत अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका सुनार पछिल्ला ८७ दिनदेखि सुर्खेतको हिरासतमा रहेका थिए । शुक्रबार बिहान करिब ६ बजेतिर ओछ्यानमै बेहोस अवस्थामा भेटिएपछि उनलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
डीएसपी बुढथापाका अनुसार, सुनारसँगै सुतेका थुनुवाले बिहान उठाउन खोज्दा प्रतिक्रिया नआएपछि प्रहरीलाई खबर गरेका थिए । ‘हामीले तुरुन्तै अस्पताल पुर्यायौँ, तर चिकित्सकले आधा घण्टाभित्र नै मृत घोषणा गर्नुभयो,’ उनले भने ।
प्रहरीका अनुसार सुनार नियमित रूपमा औषधि सेवन गर्दै आएका लागुऔषध प्रयोगकर्ता र उच्च रक्तचापका बिरामी थिए । चार दिनअघि मात्रै सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता भएको र शुक्रबारै सो मुद्दामा पेसी तय भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया