काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘फेदटुप्पो’ र नेतृत्वहीन भएको आरोप लगाएका छन्।
शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारमा कुनै ठोस आधार, जरा वा इतिहास नभएको बताए। उनले वर्तमान सरकारको कार्यशैलीलाई राजतन्त्रसँग तुलना गर्दै, ‘यो फेदटुप्पोको सरकार हो। जरा छैन, हाँगा छैन, पहेँलो लहरो जस्तो छ। आकाशवेली सरकारले हामीजस्ता मान्छेलाई पासपोर्ट रोक्का गर्छ,’ उनले भने।
ओलीले वर्तमान सरकारलाई अनुत्तरदायी ठहर गर्दै आफूलाई सुकरातसँग तुलना गरे। उनले प्रश्न गरे, ‘आजको केपी ओली भाग्छ? सरकारले नेताहरूलाई स्थानहद तोकेर कस्तो निर्वाचन गर्न खोज्दैछ?’
उनले अहिलेका प्रतिगमनकारी सरकार कमजोर र जनसमर्थनविहीन भएको बताउँदै, ‘परम्पराको टेको छैन, जनसमर्थनको आधार छैन। आगो लगाउने, तोडफोड गर्ने र आतंक मच्चाउने भरमा सरकार बनेको छ। यसको कुनै वैधानिकता छैन,’ ओलीले टिप्पणी गरे।
अध्यक्ष ओलीले जेनजी आन्दोलनसँग तुलना गर्दै वर्तमान सरकारको मताधिकार प्रक्रियालाई खण्डन गरे। उनले भने, ‘डिस्कर्डबाट शासनमा पुगेका रे! डेमोक्रेसीमा कहीँ डिस्कर्डबाट शासन हुन्छ? दुई–तीन हजार जना जम्मा भएर भोटिङ गरे, कसले गन्यो? मतपत्र कस्तो थियो? अमेरिकाको जस्तो प्वाल पारियो कि?’
उनको यो अभिव्यक्तिले वर्तमान सरकारको वैधानिकता, नेतृत्व क्षमता र लोकतान्त्रिक प्रक्रियामा असन्तुष्टि प्रकट गरेको देखिन्छ।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया