काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार काभ्रेपलाञ्चोकको बनेपास्थित श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ सेन्टर) बाट सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइ कार्यको औपचारिक शुभारम्भ गरेका छन्।
एक विशेष समारोहबीच प्रिन्टिङ प्रेसको बटन थिचेर मन्त्री खरेलले छपाइ प्रक्रिया सुरु गरेका थिए। उनले लामो समयदेखि रोकिएको लाइसेन्स छपाइ कार्य अब स्वदेशमै सञ्चालन हुन थालेको उल्लेख गर्दै यसलाई राष्ट्रिय आत्मनिर्भरताको दिशामा ठूलो उपलब्धि बताएका छन्।
मन्त्री खरेलले भने, विभिन्न कानुनी र प्राविधिक चुनौतीबीच संवेदनशील कागजातको रूपमा रहेको लाइसेन्स छपाइ देशमै सुरु हुनु सरकारको ठूलो सफलता हो। यसले तथ्याङ्क सुरक्षासँगै छपाइका नाममा बाहिरिने अरबौँको विदेशी मुद्रा पनि जोगिनेछ।
उनका अनुसार तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेका मेसिनहरू मर्मत र आवश्यक प्राविधिक व्यवस्थापछि पुनः सञ्चालनमा आएका छन्। हामीले धुलाम्मे मेसिनको धुलो टकटक्याएर काम सुरु गरेका छौँ, मन्त्री खरेलले भने, अब जनता महिनौँ पर्खनुपर्ने अवस्था अन्त्य हुँदैछ।
सञ्चारमन्त्री खरेलले हाल देशभर करिब २८ लाख स्मार्ट ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यो कार्यले जनतामा सुशासन र सेवाको सहज पहुँच सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।
सरकारले अबदेखि चालक अनुमतिपत्र लगायतका संवेदनशील कागजातहरू क्रमशः स्वदेशमै मुद्रण गर्ने तयारी पनि अघि बढाएको छ।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया