काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ । एक महिनादेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका आलमको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो ।
उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई दसैंअघि देखि भर्ना गरिएको थियो । पछिल्लो एक सातादेखि आलमको स्वास्थ्यमा थप समस्या खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । आलम निकट कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले उपचारको क्रममा ६३ वर्षीय आलमको मृत्यु भएको पुष्टि गरे । ‘पछिल्लो समय उहाँ निकै बिरामी हुनु हुन्थ्यो,’ उनले भने, ‘उपचारकै क्रममा आज निधन भयो ।’
आलमका छोरा डा। राजीक आलमका अनुसार बुवालाई डेढ महिना अघि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइएको थियो । ‘त्यहाँ स्वास्थ्यमा सुधार आए पछि घर ल्याएका थियौं । केही समयपछि स्वास्थ्य अवस्था झनै खराब भयो’ उनले भने ।
गएको जेठ १४ गते नख्खु कारागारबाट छुटेको केही दिनमै उनलाई मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । एक साता बढी आईसीयूमा राखेर उपचारपछि डिस्चार्ज भएका आलमलाई दसैंअघि थप उपचारको लागि भारत लगिएको छोरा डा। राजीकले जानकारी दिए । पुरानै समस्या बल्झिए पछि आलमलाई केएमसी अस्पतालमा भर्ना गरिएको थियो ।
२०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको सजाय पाएका पूर्वमन्त्री आलमसहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहटको फैसला उल्ट्याउदै गएको जेठ १४ गते सफाइ दिएको थियो ।
प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार












प्रतिक्रिया