काठमाडौं । राजसंस्था पुनःस्थापनाको घोषणासहित आन्दोलनमा उत्रिएका व्यवसायी दुर्गा प्रसाईं भारतीय सुरक्षाको निगरानीमा परेका छन्। भारतको बाह्य गुप्तचरी निकाय ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ ले उनको गतिविधि भारतको सुरक्षासँग जोडिने आशंकामा निगरानी बढाएको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ।

शुक्रबार साँझ नयाँदिल्लीबाट काठमाडौं फर्कँदै गर्दा भारतको अध्यागमन अधिकारीहरूले प्रसाईंलाई केही समय ‘होल्ड’ गरेर सोधपुछ गरेका थिए। उनी नेपाल एयरलाइन्सको उडान नम्बर आरए–२१८ बाट काठमाडौं आएका हुन्। दिल्लीस्थित नेपाली दूतावासले प्रसाईं ‘होल्ड’मा परेको जानकारी पाएपछि राजदूत शंकर शर्माले भारतीय अधिकारीहरूसँग छलफल गरेका थिए। करिब ४० मिनेटपछि मात्रै प्रसाईंलाई उडान अनुमति दिइएको थियो।

advertisement

सुरक्षा स्रोतका अनुसार प्रसाईंको हालको आन्दोलन र भारतविरोधी धारणा फैलाउने सम्भावनालाई लिएर भारतीय निकायहरूले चासो देखाएका थिए। नेपालमा भइरहेको राजनीतिक प्रदर्शनबीच उनले भारतको छविमा असर पार्ने गतिविधि गर्न सक्ने अनुमानपछि रअ र अध्यागमन दुवै निकायले निगरानी बढाएका हुन्।

यसअघि पनि प्रसाईंको भारत यात्राले विवाद खडा गरेको थियो। १७ सेप्टेम्बरमा उनले भारत जाने तयारी गर्दा नै काठमाडौंस्थित भारतीय दूतावासले नेपाली पक्षसँग सोधपुछ गरेको थियो। त्यसबेला पनि गृह मन्त्रालयले उनलाई कानुनअनुसार यात्रा गर्न अनुमति दिएको थियो।

सूत्रका अनुसार, भारत भ्रमणअघि नै भारतीय अधिकारीहरूले प्रसाईंलाई अनौपचारिक रूपमा सावधानी अपनाउन सन्देश दिएका थिए। तर उनले पुनः दिल्ली पुगेपछि सामाजिक सञ्जालमार्फत भारतसँग दूरी बढेको झूटो प्रचार गरिएको दाबी गरेका थिए।

दिल्ली विमानस्थलमा अध्यागमनको सोधपुछपछि प्रसाईंले नेपाली दूतावासलाई इमेल पठाउँदै आफूलाई रोकेको विषयमा असन्तोष व्यक्त गरेका थिए। उनी विशेषतः राजदूत शंकर शर्माप्रति आक्रोशित देखिएका छन्। तर दूतावास स्रोतका अनुसार प्रसाईंमाथि भारतीय सुरक्षा संयन्त्रको निगरानी नयाँ कुरा होइन।

गत वर्ष चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रसाईं भारत भागेका थिए। उनी त्यतिबेला नयाँदिल्ली, प्रयागराज, लखनउ र आसामसम्म पुगेको प्रहरी अनुसन्धानले देखाएको छ। सो क्रममा उनको भारतीय जनता पार्टी (बीजेपी)सँग आबद्ध राष्ट्रिय स्वयंसेवक संघका केही नेतासँग सम्पर्क रहेको पनि खुलासा भएको थियो।

२५ फागुनमा काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रममा प्रसाईंले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रदर्शन गराएका थिए। त्यसपछि भारतीय पक्षले नेपालमा भइरहेको गतिविधिलाई चासोका रूपमा नियालेको थियो।

त्यसबेला तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले समेत भारतीय विदेशमन्त्री एस. जयशंकर र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवसँग यस विषयमा छलफल गरेकी थिइन्। त्यसयता भारतको आन्तरिक गुप्तचर निकाय ‘इन्टेलिजेन्स ब्युरो (आईबी)’ को सहयोगमा प्रसाईंलाई नेपाल प्रहरीले नियन्त्रणमा ल्याएको थियो।

हालै भारतीय टेलिभिजन च्यानल एनडीटीभीले सरकारी स्रोतलाई उद्धृत गर्दै प्रसाईंको राजनीतिक गतिविधिसँग भारतको कुनै सरोकार नभएको जनाउँदै खबर प्रसारण गरेको थियो। रिपोर्टका अनुसार, भारत अहिले नेपालसँग स्थिर सम्बन्ध कायम राख्न चाहन्छ र प्रसाईंको ‘राजसंस्था पुनःस्थापनाको आन्दोलन’लाई कुनै किसिमको समर्थन नगर्ने नीति लिएको छ।

एक उच्च अधिकारीका अनुसार, “भारतीय अधिकारीहरूले प्रसाईंलाई भारतमा रहँदा राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थन रहेको झूटा दाबी नगर्न चेतावनी दिएका छन्।”

प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com