काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियान समितिले निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै शनिबार स्काउटको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ। निर्देशक चयनका लागि सर्टलिस्टमा परेकाहरूलाई अन्तर्वार्ताका लागि बोलाइएको समयमै समितिले विरोध प्रदर्शन गर्दै कार्यालय परिसरमै धर्ना बसेको हो।
धर्ना क्रममा प्रहरी र प्रदर्शनकारीबीच धक्का-मुक्कीसमेत भएको थियो। समितिका संयोजक देवदूत अधिकारीले बहालवाल निर्देशक रहँदै नयाँ नियुक्ति प्रक्रिया सुरु गर्नु गैरकानुनी भएको दाबी गरे। उनले भने, अदालतमा प्रमुख आयुक्तको विषयमा मुद्दा विचाराधीन छ, यस्तो अवस्थामा नयाँ निर्देशक नियुक्त गर्न खोज्नु गलत कदम हो।
अधिकारीका अनुसार तत्कालीन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कानुन विपरीत निर्वाचित प्रमुख आयुक्तलाई निलम्बन गरेर आफ्नो विद्यालय नाइटिङ्गल स्कुलका शिक्षक देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाएका थिए। मन्त्रीले टीका लगाएर आफ्नै मान्छेलाई आयुक्त बनाएको स्पष्ट प्रमाण छ, उनले आरोप लगाए।
समितिले स्काउटभित्रको विकृति, विसंगति र भ्रष्टाचारको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। संयोजक अधिकारीले प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही नगरी नयाँ नियुक्ति प्रक्रिया अघि बढाउनु संस्थाको शुद्धीकरण प्रयासमाथि ठट्टा भएको बताए।
यसैबीच, निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले आफू वैधानिक रूपमा नेपाल स्काउटको राष्ट्रिय परिषद्द्वारा निर्वाचित भएको तर तत्कालीन मन्त्री चौधरीले एक वर्ष नपुग्दै गैरकानुनी रूपमा पदबाट हटाएको बताए। रञ्जितका अनुसार आफूविरुद्ध कानुनी प्रक्रिया नपु¥याई देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाइएपछि सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ।
रञ्जितले भने, अदालतमा मुद्दा विचाराधीन रहँदा निर्देशक नियुक्ति अघि बढाउनु न्यायिक प्रक्रियाको उल्लंघन हो।
शुद्धीकरण अभियान समितिले आगामी दिनमा आन्दोलनलाई थप तीव्र बनाउने चेतावनी दिएको छ।
प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार












प्रतिक्रिया