काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ को ह्वाट्सएप नम्बर ह्याक भएको छ।
नेता पुनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् विज्ञप्ति जारी गर्दै आफ्नो व्यक्तिगत ह्वाट्सएप नम्बर साइबर आक्रमणका कारण ह्याक भएको पुष्टि गरेका हुन्।
उनका अनुसार, हाल उक्त नम्बरबाट अनधिकृत सन्देशहरू पठाइँदै रहेका छन्। उनले आफ्ना साथी–समर्थक र सम्पर्कमा रहने सबैलाई सावधान रहन आग्रह गर्दै भनेका छन्, ‘सावधान रहनुहोस्, मेरो ह्वाट्सएप नम्बर ह्याक भएको छ र त्यसबाट आउने कुनै पनि सन्देशमा विश्वास नगर्नुहोस्।’
पुनले यस घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराइसकेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने पनि बताएका छन्।
प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया