काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनार र सार्वजनिक जग्गामा रहेका सुकुमवासी बस्तीहरू हटाउने अभियानलाई तीव्र बनाएको छ। यस कदमका विरुद्धमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आक्रोशपूर्ण प्रतिक्रिया जनाउँदै महानगरको कार्यप्रति कडा आपत्ति व्यक्त गरेका छन्।
सुकुमवासी बस्तीमा पुगेका प्रसाईंले सम्बोधनका क्रममा मेयर बालेन शाहमाथि गरिब र वञ्चित वर्गमाथि अन्याय गरेको आरोप लगाए। उनले भने, गरिबको घर भत्काउने होइन, समस्या समाधान गरेर मात्र देश बनाउन सकिन्छ।
उनले सुकुमवासीहरूको घर भत्काउने कार्य रोक्न माग गर्दै मेयर शाहलाई चुनौतीसमेत दिए। यदि तपाईंमा दम छ भने ठूला अतिक्रमणकर्तामाथि कारबाही गर्नुहोस्। बालमन्दिर, पशुपति, र नर्भिक अस्पतालको विवादित जग्गा खाली गर्नुस्, अनि मात्र सुकुमवासीमाथि हात हाल्नुस्, प्रसाईंले भने।
प्रसाईंले सुकुमवासी समस्या २०५८ सालदेखि जारी रहेको बताउँदै, महानगरसँग साँच्चै बजेट छ भने उनीहरूका लागि राम्रो घर बनाएर दिनुपर्छ, भने। उनले बालेन शाहमाथि “एसी कोठामा बसेर गरिबको पीडा नबुझ्ने र शहरलाई सुन्दर बनाउने नाममा कमजोर वर्गलाई विस्थापित गर्ने” आरोप पनि लगाए।
उनका अनुसार, गरिबहरू साग बेची, मकै पोलेर, फर्सीको मुन्टो बेचेर आफ्नो पेट पाल्छन्, तर उनीहरूलाई शहर सुन्दर बनाउने नाममा खेदिँदै छ।
यस बीच, काठमाडौं महानगरपालिकाले भने सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउने कार्य आफ्नो नियमित अभियानको रूपमा निरन्तर जारी रहेको बताएको छ। महानगरका अनुसार, यो कार्य शहर व्यवस्थापन र सार्वजनिक सम्पत्ति संरक्षणका लागि आवश्यक कदम हो।
प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया