काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चारमाध्यमलाई लोकतन्त्र सुदृढीकरणको प्रमुख आधारका रूपमा काम गर्न आग्रह गरेका छन् । उनले नागरिकलाई सूसूचित राख्नु सञ्चारमाध्यमको सर्वोच्च दायित्व भएको बताउँदै, गलत सूचना र भ्रामक समाचारको प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
सार्वजनिक सेवा प्रसारण नेपाल (PSBN)को प्रथम वार्षिकोत्सव तथा ‘एनटिभी वर्ल्ड’ शुभारम्भ समारोहमा बोल्दै राष्ट्रपतिले लोकतन्त्रलाई बलियो बनाउन र युवाको सुशासन तथा विकासप्रतिको चाहना पूरा गर्न सञ्चारमाध्यमले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए ।
उनले भने, ‘सार्वजनिक सेवा प्रसारण कुनै सरकारी वा व्यावसायिक स्वार्थमा आधारित संस्था होइन, यो नागरिकको संस्था हो — जसले सरकारको हस्तक्षेप र बजारको दबाबभन्दा माथि उठेर नागरिक र राष्ट्रको पक्षमा काम गर्नुपर्छ।’
राष्ट्रपतिले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको निष्पक्ष, सत्यनिष्ठ र प्रभावकारी भूमिकाको आवश्यकता रहेको पनि उल्लेख गरे ।
उनका अनुसार, सत्य, तथ्य र विश्वसनीय सूचना पाउने हक नागरिकको मौलिक अधिकार हो, र सो सूचना प्रवाह गर्ने कर्तव्य सञ्चारमाध्यमको जिम्मेवारी हो । उनले पछिल्ला दिनमा सामाजिक सञ्जाल र अनलाइन माध्यममार्फत गलत सूचना, अफवाह र दिग्भ्रम फैलिने प्रवृत्तिबाट सतर्क रहन आग्रह गरे ।
राष्ट्रपतिले प्रविधिको तीव्र विकाससँगै समाचार सम्प्रेषणका स्वरूपमा आएको परिवर्तनलाई स्वीकार गर्दै भने, ‘सामाजिक सञ्जाल र नयाँ प्रविधिले नागरिक पत्रकारितालाई सबल बनाएको भए पनि यसको दुरुपयोगबाट जनतालाई भ्रममा पार्ने जोखिम बढेको छ, त्यसैले आमसञ्चारमाध्यमले त्यसबाट समाजलाई जोगाउनु आजको आवश्यकता हो।’
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, मन्त्रालयकी सचिव राधिका अर्याललगायत अधिकारीहरूको सहभागिता रहेको थियो । राष्ट्रपतिले सो अवसरमा ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गर्दै सार्वजनिक सेवा प्रसारणको लोगो र मोबाइल एप पनि सार्वजनिक गरे ।
नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकृत गरी स्थापना गरिएको सार्वजनिक सेवा प्रसारण नेपालले यस वर्ष पहिलो वार्षिकोत्सव मनाएको हो । संस्थाका अध्यक्ष महेन्द्र विष्टले ‘नागरिक प्रथम’को अवधारणाअनुसार प्रसारण सेवालाई रुपान्तरण र सुदृढ बनाउने प्रयास भइरहेको जानकारी दिए ।
प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया