काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको जेनजी आन्दोलन सुरुवातमै बाह्य प्रभावले प्रभावित भएको दाबी गरेका छन् । आइतबार राष्ट्रिय युवा सङ्घ नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले माइतीघर मण्डलादेखि नै आन्दोलनका माग र एजेन्डा ‘खोसाखोस’ हुने क्रम सुरु भएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीका अनुसार, युवाहरूले वैधानिक र सकारात्मक मागसहित आन्दोलनको आह्वान गरे पनि सुरुको चरणमै विभिन्न स्वार्थ समूहले त्यसलाई भड्काउने प्रयास गरे । उनले भने, ‘भदौ २३ गते युवाहरूले राम्रो उद्देश्यका साथ आन्दोलन सुरु गर्नुभयो, तर माइतीघरमै पुग्नुअघि नै उनीहरूका माग र एजेन्डा अरूले कब्जा गर्न थाले ।’

advertisement

ओलीले दाबी गरे, ‘युवाहरूले जसोतसो आन्दोलन होटल एभरेष्टसम्म पुर्‍याए, तर त्यसपछि निषेधाज्ञा लगाइयो र जायज मागलाई थिच्ने प्रयास भयो । त्यसपछि आन्दोलनका नाममा उग्र गतिविधि बढ्न थाले ।’

उनका अनुसार, भदौ २४ गते देशभर देखिएको आगलागी र तोडफोड पूर्वनियोजित थियो । उनले भने, ‘त्यो घटनाक्रम २३ गतेको स्वतःस्फूर्त प्रतिक्रिया होइन, पहिल्यै योजनाबद्ध रूपमा सर्वे गरेर, चिह्न लगाएर गराइएको कार्य थियो ।’

ओलीले जेनजी आन्दोलनका नाममा केही व्यक्तिहरूले लोकप्रियता कमाउने प्रयास गरेको आरोप पनि लगाए । उनले भने, ‘कोही पानी बाँडेर, कोही कालो ज्याकेट लगाएर नेता बने, तर यस्ता मानिसहरूले सञ्चारकर्मीलाई मन नपर्ने समाचार लेखेपछि धम्की दिन थालेका छन् ।’

उनले सञ्चारकर्मी र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय युवा सङ्घलाई सक्रिय हुन आग्रह गरे । ओलीले भने, ‘प्रहरी र जनता त्रसित हुने अवस्था सिर्जना भएको छ । युवा सङ्घले शान्ति, सुरक्षाको वातावरण पुनःस्थापना गर्न अग्रणी भूमिका खेल्नुपर्छ ।’

अध्यक्ष ओलीले आन्दोलनका क्रममा संलग्न केही अपराधिक तत्त्वहरूलाई ‘जिम्मेवार युवा होइन’ भन्दै ती व्यक्तिहरूले युवाको नाममा प्रतिगमन मच्चाएको टिप्पणी गरे ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com