काठमाडौ । व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध खुलेर विरोध गर्दै सुकुम्बासी समुदायको समर्थनमा उभिन थालेका छन्। आइतबार मनोहरा सुकुम्बासी बस्तीमा पुगेका प्रसाईंले त्यहाँ भेला भएका बस्तीवासीलाई सम्बोधन गर्दै बालेनको नेतृत्वमा भइरहेको बस्ती हटाउने अभियानको कडा विरोध गरे।
प्रसाईंले बस्तीमा रहेका सर्वसाधारणलाई आफू सधैं उनीहरूको पक्षमा रहने र घर भत्काइएमा प्रतिरोध गर्न नडराउन आग्रह गरे। उनले मेयर शाहमाथि वर्गीय भेदभाव र गरिबमाथि अत्याचार गरेको आरोप लगाउँदै भने, बालेनले गरिबको घर भत्काएर केही हुने छैन। उनीहरूले बाँच्नका लागि घर बनाएका हुन्, त्यसलाई भत्काउनु अन्याय हो।
बस्ती हटाउने महानगरको एक साताको अल्टिमेटम सकिनै लाग्दा प्रसाईंले सुकुम्बासीहरूलाई “भोटका लागि प्रयोग मात्र गर्ने राजनीतिक दलहरूबाट सावधान रहन चेतावनी दिए। उनले भने, म तपाईंहरूबाट भोट माग्दिन, म तपाईंहरूलाई स्थायी बास दिलाउन सहयोग गर्न आएको हुँ।
प्रसाईंले आफ्नो आन्दोलन ‘व्यवस्था परिवर्तन’का लागि रहेको दाबी गर्दै भूमिहीन नागरिकलाई आवास र भूमिको सुनिश्चितता दिने प्रतिबद्धता जनाए। साथै उनले सबै राजनीतिक दल र मेयर बालेन शाहलाई ‘ठेगान लगाउने’ चेतावनीसमेत दिए।
कार्यक्रममा प्रसाईंले बालेन शाह र उनका सहयोगी भिक्टर पौडेलमाथि भ्रष्टाचारको आरोप लगाउँदै बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड रुपैयाँ लिएको दाबी गरे।
उनले आगामी मङ्सिर ७ गतेदेखि सुरु हुने आफ्नो ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ’ अभियानमा सबैलाई सहभागिताका लागि आह्वान गर्दै जनतालाई गरिबको हक र आवाजका लागि एकजुट हुन, आग्रह गरे।
यसैबीच, काठमाडौं महानगरपालिकाले भने नदी किनार र सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउने कार्यलाई नियमित अभियानका रूपमा निरन्तरता दिने जनाएको छ।
प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया