काठमाडौं । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको निर्णय र कार्यशैलीप्रति तीव्र आपत्ति जनाएका छन् ।
उनका अनुसार प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८(२) अनुसार बहुमत प्राप्त दलको नेताबाट मुख्यमन्त्री नियुक्त गर्नुपर्नेमा त्यसको अवहेलना गरी, सांसदहरूको दुई तिहाइ समर्थन हुँदाहुँदै पनि धारा १६८(३) अन्तर्गत नयाँ मुख्यमन्त्री नियुक्त गरेर संविधानको मर्म नै उल्लङ्घन गरेकी छन् ।
सोनलले भण्डारीको कदमप्रति असन्तोष व्यक्त गर्दै भने, ‘उहाँले दुई वटा कुराको गरिमा घटाउनुभयो— पहिलो, महिला भएको हैसियतको; दोस्रो, बिरामीको गरिमा। उहाँले आफू बिरामी भएकी भन्दै उपचारका लागि काठमाडौँ जान लाग्नुभएको थियो । म पनि मानवताको दृष्टिले उहाँको स्वास्थ्य लाभको कामना गर्दै फूलसहित भेट्न पुगेँ ।’
उनका अनुसार भेटका क्रममा प्रदेश प्रमुखले आफू फर्किएपछि राजनीतिक प्रक्रियामा अघि बढ्ने आश्वासन दिएकी थिइन् । ‘उहाँले मलाई नै मुख्यमन्त्री हुनुहुन्छ, म फर्किएर आएपछि अर्को व्यवस्थामा जाऊँला भन्नुभएको थियो,’ सोनलले भने ।
सोनलका अनुसार आइतबार मात्रै दुई तिहाइभन्दा बढी अर्थात् करिब ७५ जना सांसदको समर्थनसहित आफूले सरकार गठनको दाबी पेश गरेका थिए । ‘भेटमा उहाँले त्यो समर्थनको कदर गर्ने बताउनुभएको थियो,’ उनले रातोपाटीसँग भने, ‘तर पछि उहाँले ठीक उल्टो निर्णय गर्नुभयो ।’
उनले प्रदेश प्रमुख भण्डारीको निर्णयले संविधान र संघीयताको मूलभावनामा नै आघात पुर्याएको आरोप लगाए । ‘उहाँले हिजो नै स्पष्ट भनिदिएको भए— “म धारा १६८(३) अनुसारै अघि बढ्छु”— भनेको भए जनता आफैंले उहाँलाई मधेश भवनमै घेरेर राख्ने थिए,’ सोनलले भने ।
सोनलले आफूले एक महिला र बिरामी व्यक्ति भएकी नाताले प्रदेश प्रमुखप्रति मानवता देखाएको तर त्यसैको दुरुपयोग भएको दाबी गरे । ‘हामीले विश्वास गर्यौं, तर उहाँले हामीसहित दुई तिहाइ सांसदको विश्वास तोड्नुभयो,’ उनले भने, ‘उहाँ आमाको रूपमा देखिनुभयो, तर अन्ततः “आमाभित्रको पुतना” बनेर निस्कनुभयो ।’
उनले थपे, ‘यदि उहाँलाई धारा १६८(३) अन्तर्गतकै मुख्यमन्त्री नियुक्त गर्न मन थियो भने किन हिजो नै स्पष्ट पारिनन् ? अहिले त रेस्टुरेन्ट वा होटलमा गएर शपथ गराउने अवस्था आएको छ । यो लोकतान्त्रिक
अभ्यासको अपमान हो ।’सोनलले अहिले आफ्नो टोली कानुनी र राजनीतिक दुबै विकल्पमा छलफल गरिरहेको जनाउँदै भने, ‘हामी कानुनी बाटोमा पनि जान्छौँ, जनताको बीचमा पनि जान्छौँ । यस्तो प्रदेश प्रमुख राख्ने कि नराख्ने भन्ने विषय अब गम्भीर प्रश्न बनेको छ । मजस्तो मान्छेसँग पनि झूट बोल्ने ? यो दुर्भाग्यपूर्ण छ ।’
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया