काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त प्रदेशको रूपमा घोषणा गर्नुपर्ने माग गरेका छन् । मधेश प्रदेशमा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि राउतले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।

राउतले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ । नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने यही सही समय हो । अब स्वायत्तताको आन्दोलन सुरु गर्नुपर्छ ।’

advertisement

उनका अनुसार मधेश प्रदेश सभा नै स्वतन्त्र भएर स्वायत्त घोषणा गर्न सक्षम छ । ‘प्रदेश सभाको बैठकबाटै मधेशलाई स्वायत्त प्रदेश घोषणा गरौं । आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौं,’ उनले भनेका छन्, ‘डराएर सदियौँसम्म नेपाली शासकको गुलामी गर्यौं, अब खुलेर बोल्ने समय आएको छ ।’

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उपचारका लागि काठमाडौं जाने भनेर बर्दिबास पुगेकी बेला होटलमै बसेर एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि मधेश राजनीतिमा विवाद चुलिएको छ । यही घटनापछि डा. राउतले स्वायत्तताको मागलाई खुलेर अघि सारेका हुन् ।

उनले भनेका छन्, ‘संविधानको धज्जी उडाउँदै सिंहदरबारका प्रतिनिधिहरूले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र अदालतहरूले मधेशका पार्टीहरूलाई कमजोर बनाउने, कार्यकर्तामाथि दमन गर्ने काम गरिरहेका छन् । यस्तो अवस्थामा हामीले सडकमै भए पनि प्रदेश सभाको बैठक बोलाएर मधेशलाई स्वायत्त प्रदेश घोषणा गर्नुपर्छ ।’

डा. राउतले अहिलेको संघीय सरकार पनि जनआन्दोलनको मागअनुसार बनेको भन्दै मधेशका जनप्रतिनिधिहरूलाई दुई तिहाइ बहुमतको आधारमा स्वायत्त घोषणा गर्न आह्वान गरेका छन् ।

‘५४ प्रतिशत जनसंख्या भएको मधेश केही मुठ्ठीभर शासकको जागिर होइन,’ उनले भनेका छन्, ‘मधेश हाम्रो हो, यहाँ हाम्रो शासन हुनुपर्छ । सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, आयुक्त र कर्मचारीमार्फत मधेशलाई विभाजित र नियन्त्रणमा राख्ने षड्यन्त्र अब चल्दैन । पूर्ण स्वायत्तताको आन्दोलन अपरिहार्य छ । यही हो नेपाली औपनिवेशिक शासन अन्त्य गर्ने ऐतिहासिक मौका ।’

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com