काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै नागरिकलाई सक्रिय सहभागिताका लागि मतदाता परिचयपत्र बनाउन आग्रह गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले निर्वाचनमा मतदाता दर्ता अत्यावश्यक भएको स्मरण गराए ।
थापाले भने, ‘फागुन २१ मा निर्वाचन निश्चित छ — नो इफ, नो बट । हामी सबैले त्यसमा भाग लिनुपर्छ । तर, मतदान गर्नका लागि तपाईंले भोटर रजिस्ट्रेशन गराउनुभएको छैन भने अब जम्मा ६ दिन मात्र बाँकी छ । कृपया यसै अवधिमा दर्ता गराउनुहोस् ।’
उनले मतदाता नामावलीमा दर्ता गर्नका लागि निर्वाचन आयोगको वेबसाइट प्रयोग गर्न वा पहिले नै दर्ता गरिसकेका व्यक्तिबाट आवश्यक जानकारी लिन सकिने बताए ।
फेसबुकमा राखिएको सन्देशमा थापाले लेखेका छन्, ‘फागुन २१ गते हुने निर्वाचनमा आफ्नो सहभागिता सुनिश्चित गर्न आजै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरौँ । निर्वाचन आयोगको वेबसाइटमा गएर वा दर्ता गरिसकेका साथीहरूबाट सहयोग लिएर मतदाता परिचयपत्र बनाऔँ ।’
उनले लोकतान्त्रिक अभ्यास सुदृढ गर्न प्रत्येक नागरिकको मत अमूल्य हुने उल्लेख गर्दै समयमै नाम दर्ता गर्न सबैलाई आह्वान गरेका छन् ।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया