क्विटो । इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार बिहान सुरु भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ।
स्थानीय समय अनुसार बिहान ३ बजेबाट सुरु भएको झडप केही घण्टाभित्र नियन्त्रणबाहिर पुगेको थियो। प्रारम्भिक भिडन्तमा चार जनाको मृत्यु भएको र ३३ जना कैदीसहित एक प्रहरी अधिकारी घाइते भएको अधिकारीहरूले बताएका छन्। दिउँसो थप २७ कैदी श्वासप्रश्वास अवरुद्ध भएर ज्यान गुमाएका थिए।
जेल प्रशासन एसएनएआईका अनुसार मृतकहरू आपसी सङ्घर्षको क्रममा श्वासप्रश्वास अवरुद्ध भएर मृत्यु भएका हुन्। फरेन्सिक टोली घटनास्थलमै कार्यरत रहेको र थप विवरण सङ्कलन भइरहेको बताइएको छ।
स्थानीय बासिन्दाहरूले जेलभित्र गोली, विस्फोट र सहयोगका लागि आवाज सुनेको बताएका छन्। अधिकारीहरूले घटनामा संलग्न मृतकहरूको पहिचान अझै सार्वजनिक गरेको छैन। प्रारम्भिक अनुसन्धानले प्रतिस्पर्धी लागुऔषध तस्करी गिरोहबीचको द्वन्द्वलाई मुख्य कारणको रूपमा देखाएको छ।
इक्वेडरका जेलहरू पछिल्ला वर्षहरूमा लागुऔषध तस्करी गिरोहको प्रमुख केन्द्र बनेका छन् र अवैध व्यापार नियन्त्रणका लागि एक–अर्कासँग हिंसात्मक संघर्ष गर्दै आएका छन्। सन् २०२१ यता विभिन्न दङ्गामा ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ।
सरकारले यस महिनामा अर्को प्रान्तमा निर्माण सम्पन्न उच्च सुरक्षा जेल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। अधिकारीहरूले पछिल्लो हिंसा यस स्थानान्तरण योजना संग पनि सम्बन्धित हुन सक्ने बताउँछन्।
गत सेप्टेम्बरमा मचाला जेलमै भएको भिडन्तमा १३ कैदी र एक जेल अधिकारीको मृत्यु भएको थियो। वर्तमान घटना त्यसै शृङ्खलाको अर्को दुःखद अध्याय बनेको छ।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया