काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमामार्फत वितरण हुने निःशुल्क औषधि गुणस्तरहीन भएको भन्ने आरोपलाई निराधार बताएकी छन्।
भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गर्दै सोमबार मन्त्री गौतमले सो आरोप भ्रमपूर्ण र भ्रामक प्रचार भएको भन्दै त्यसमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरिन्।
उनका अनुसार केही निजी औषधि व्यवसायीहरूले स्वार्थका लागि गलत प्रचार गरिरहेको हुन सक्छ, त्यसप्रति सचेत रहनुपर्ने आवश्यकता छ।
मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रमका केही प्राविधिक र व्यवस्थापकीय समस्या क्रमशः समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन्। उनले बीमा अन्तर्गतका सेवाको भुक्तानीसम्बन्धी गुनासो आएका केही अस्पतालका विषयमा चाँडै समाधान हुने बताइन्।
उनले सुशासन कायम गर्दै नागरिकले सहज र गुणस्तरीय सेवा पाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
मन्त्री गौतमले स्थानीय तहमा औषधि अभावका गुनासो बढ्दै गएको बताउँदै, निःशुल्क औषधि सबैलाई उपलब्ध गराउन स्थानीय तहले अग्रसर हुनुपर्ने र त्यसका लागि केन्द्र सरकार पूर्ण सहयोग गर्न तयार रहेको बताइन्।
कार्यक्रममा अस्पतालका योगदान पुर्याउने चिकित्सक तथा कर्मचारीहरूलाई सम्मान र पुरस्कारसमेत प्रदान गरिएको थियो।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया