काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जेनजी आन्दोलन’को नाममा भएको गतिविधि वास्तविक आन्दोलन नभई अराजक क्रियाकलाप भएको टिप्पणी गरेका छन्।
सोमबार राजधानीमा आयोजित एमालेको ‘घर फर्क अभियान’को राष्ट्रिय घोषणा सभालाई सम्बोधन गर्दै ओलीले जेनजी आन्दोलनका नाममा हिंसा, आगजनी र तोडफोडले देशलाई अस्थिर बनाउन खोजिएको बताए।
उनले भने, ‘जेनजी आन्दोलनका नाममा जे भयो, त्यो आन्दोलन होइन, अर्कै खेल रहेछ। राष्ट्रको सम्पत्ति जलाइयो, उद्योग–धन्दा जलाइए, जसले हजारौं श्रमिक बेरोजगार बने। गरिबका छोराछोरी विद्यालय जान पाउन सकेनन्, मर्ने–मार्नेको वातावरण बनाइयो।’
ओलीका अनुसार, सो आन्दोलनका क्रममा थुप्रैको ज्यान गएको मात्र होइन, सार्वभौम जनताले चुनेको सर्वोच्च प्रतिनिधि संस्थामाथि समेत आघात पुर्याइएको थियो।
उनले भने, ‘संविधान र लोकतन्त्र जोगाउने नाममा संसद् नै विघटन गरियो। जनमतको अनादर गर्ने सरकारले देशलाई दिशाहीन बनायो। त्यसको प्रतिरोधका रूपमा एमालेले चलाएको अभियानले जनताको समर्थन पाएको छ, र अहिले केही जेनजीहरू पनि एमालेमा फर्किरहेका छन्।’
ओलीले नेकपा एमाले नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को वास्तविक वाहक भएको दाबी गर्दै पार्टीलाई सबै वर्गको आशाको केन्द्र बनाउने संकल्प दोहोर्याए।
सोही अवसरमा उनले नेतृ रामकुमारी झाँक्रीलगायत पार्टीमा निस्वार्थ भावनाका साथ फर्किएका नेताहरूलाई स्वागत गर्दै त्यसलाई पार्टीले उच्च मूल्याङ्कन गर्ने बताए।
पूर्वप्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालको नेतृत्वमा बनेको नयाँ पार्टीलाई व्यङ्ग्य गर्दै ‘ज्येष्ठ नागरिक आश्रम’ को उपमा समेत दिए। उनले भने, ‘अब काम गर्ने र युवाहरूको पार्टी नेकपा एमाले हो। ज्येष्ठ नागरिकहरू उता छन्, तर उर्जावान र राष्ट्र निर्माणमा जुट्नेहरू एमालेमा फर्किरहेका छन्।’
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया