काठमाडौं । नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको अवकाश मिति नजिकिँदै जाँदा नयाँ आईजीपी चयनका लागि चलहपहल तीव्र भएको छ ।

आईजीपी खापुङ प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधि पूरा गर्दै आगामी कात्तिक २६ गते अवकाशमा जाने भएका हुन् । उनका उत्तराधिकारीका रूपमा अब चार अतिरिक्त महानिरीक्षक (एआईजी) बीच प्रतिस्पर्धा हुने निश्चित देखिएको छ ।

advertisement

आईजीपी पदका प्रमुख दावेदारमा एआईजी दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी र सिद्धिविक्रम शाह रहेका छन् । तीमध्ये कार्की, अधिकारी र केसीलाई गत वैशाख १५ गते, जबकि शाहलाई जेठ १५ गते एआईजीमा बढुवा गरिएको थियो ।

तीनै जना — कार्की, अधिकारी र केसी — सन् १९९८ (२०५४ चैत १८) मा प्रहरी सेवामा प्रहरी निरीक्षकका रूपमा प्रवेश गरेका हुन् । वरिष्ठताका हिसाबले कार्की सर्वाधिक अगाडि छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले पनि वरिष्ठता र कार्यसम्पादनको मूल्याङ्कनका आधारमा एआईजी दानबहादुर कार्कीलाई आगामी प्रहरी प्रमुख बनाउने तयारी गरेको स्रोतहरूले जनाएकाे छ ।

हाल एआईजी कार्कीले काठमाडौँ, ललितपुर र भक्तपुर गरी सम्पूर्ण उपत्यकाको कमाण्ड सम्हालिरहेका छन् । चुनौतीपूर्ण जिम्मेवारीमा उनले अनुशासित, पारदर्शी र इमानदार अधिकारीका रूपमा आफूलाई स्थापित गरेका छन् ।

विदेशमा विभिन्न उच्चस्तरीय तालिम लिइसकेका कार्कीले यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए । अब बन्ने नयाँ आईजीपीले २०८४ चैत १७ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com