काठमाडौं । नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन्। वर्तमानमा उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत थिए।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधिमा पुगेका वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजे अनिवार्य अवकाशमा जाने भएका छन्। यसअघि नै सरकारले नयाँ आईजीपी नियुक्त गरेको हो।
एआईजी कार्कीले २४ भदौको जेनजी आन्दोलनको बेला उपत्यकाको कमाण्ड सम्हालेका थिए भने २३ भदौमा उपत्यकामा एआईजी नभएको समयमा उनलाई जिम्मेवारी दिइएको थियो। यसअघि उनी मानव स्रोत साधन विभागको प्रमुख र डीआईजीको रूपमा लुम्बिनी प्रदेशको कमाण्ड सम्हालिसकेका थिए।
एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको व्यवस्थापन गरेको अनुभव पनि छ।
चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकासम्मको कमाण्ड सम्हालेका कार्कीलाई इमान्दार र सक्षम प्रहरी अधिकृतको रूपमा चिनिन्छ। उनी फिल्डदेखि आईजीपी सचिवालयसम्मको अनुभवसहित नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत रहिसकेका छन् र विदेशमा विभिन्न तालिमहरूमा सहभागी भइसकेका छन्।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया