काठमाडौं । भारत र पाकिस्तानका राजधानीमा भएका श्रृंखलाबद्ध विस्फोटपछि बंगलादेशको राजधानी ढाकामा पनि बम आक्रमण भएको छ । मंगलबार साँझ ढाकाका धानमन्डी र गुलिस्तान क्षेत्रमा फरक–फरक समयमा भएका विस्फोटका कारण शहर त्रसित बनेको छ ।
एसिया न्यूज नेटवर्क (एएनएन)का अनुसार धानमन्डीस्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)को अनुसन्धान एजेन्सी कार्यालय अगाडि स्थानीय समय अनुसार साँझ ८:०४ बजे पहिलो विस्फोट भएको थियो । त्यस्तै, दोस्रो विस्फोट गुलिस्तानको जिरो प्वाइन्ट नजिक ८:५० बजे भएको बताइएको छ ।
जिल्ला अदालत भवन अगाडि रोकिएको प्रहरी भ्यान नजिकै भएको अर्को विष्फोटमा २७ जना घाइते भएका छन् । द डेली स्टारका अनुसार यस आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिबान (टीटीपी)ले लिएको छ र उसले यस्ता कारबाहीहरू निरन्तर जारी रहने चेतावनी दिएको छ ।
प्रहरीका अनुसार दुवै घटनामा मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर भागेका थिए । हालसम्म घटनामा कसैलाई पक्राउ गरिएको छैन ।
विस्फोटमा प्रयोग गरिएका बम ‘क्रुड बम’ अर्थात् घरेलु रूपमा बनाइएका साधारण विस्फोटक पदार्थ भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस्तो बम व्यावसायिक वा सैन्य स्तरको नभई असुरक्षित र अस्थिर प्रकृतिको हुने बताइन्छ ।
घटनामा मानवीय क्षति नभए पनि स्थानीयहरूमा ठूलो त्रास सिर्जना भएको बंगलादेशका सञ्चारमाध्यमहरूले जनाएका छन् । सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले घटनाको गम्भीरता औंल्याउँदै सुरक्षाकर्मीलाई तत्काल अनुसन्धान गरी संलग्नलाई कानूनी कारबाहीमा ल्याउन निर्देशन दिएका छन् । उनले धार्मिक सहिष्णुता भङ्ग गर्ने प्रयासहरूलाई कडा जवाफ दिइने चेतावनी पनि दिएका छन् ।
यसअघि आइतबार बेलुकी भारतको राजधानी नयाँदिल्लीस्थित लालकिला नजिकको मेट्रो स्टेशनमा कार बम विष्फोट हुँदा ८ जनाको मृत्यु भएको थियो भने सोमबार पाकिस्तानको इस्लामावादमा भएको अर्को बम विस्फोटमा १३ जनाको ज्यान गएको थियो ।
ती घटनाको पृष्ठभूमिमा ढाकामा भएको यो आक्रमणले दक्षिण एसियाभर सुरक्षा सतर्कता थप कडा बनाएको छ ।
प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया