काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका छन् । बुधबार एक औपचारिक वक्तव्य जारी गर्दै उनले चारदलीय समाजवादी मोर्चाबाट आफ्नो पार्टी अलग भएको जानकारी दिएका हुन् ।
वक्तव्यमा विप्लवले जेनजी आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिले समाजवादी मोर्चाको औचित्य समाप्त भएको निष्कर्ष निकालिएको उल्लेख गरेका छन् ।
‘समाजवादी मोर्चामा आबद्ध तीन दलले एकता गरेर नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन गरिसकेका छन्,’ वक्तव्यमा भनिएको छ, ‘त्यसैले हालको स्वरूपमा समाजवादी मोर्चाको अस्तित्व आवश्यक नरहेको ठहर गर्दै हाम्रो पार्टी नेकपा यस मोर्चाबाट अलग भएको घोषणा गर्दछ ।’
सन् २०८० सालमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेकपाले संयुक्त रूपमा समाजवादी मोर्चा गठन गरेका थिए । उक्त मोर्चाले राष्ट्रिय स्वाधीनता, राज्यको संरचनात्मक रुपान्तरण, जनजीविकाको सुधार र भ्रष्टाचारविरुद्धको संघर्षलाई मुख्य एजेन्डा बनाएको थियो ।
तर पछिल्ला राजनीतिक विकासक्रममा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पार्टी एकता गरेर नयाँ कम्युनिस्ट पार्टीको घोषणा गरेका छन् । त्यस्तै, विप्लव नेतृत्वको नेकपाभित्रको चिरन सी समूह पनि उक्त एकता प्रक्रियामा सहभागी भइरहेको बताइएको छ ।
विप्लवले समाजवादी मोर्चाले गठनपश्चात केही महत्त्वपूर्ण पहलहरू गरे पनि समय र परिस्थितिको मागअनुसार तीव्र रूपमा कार्य अघि बढाउन नसकेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘राजनीतिक परिस्थितिको बदलिँदो प्रवृत्तिले नयाँ संयोजन र रणनीतिक पुनर्संरचना अपरिहार्य बनाएको छ, त्यसैले हाम्रो पार्टीले अब स्वतन्त्र राजनीतिक यात्रालाई निरन्तरता दिनेछ।’

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया