काठमाडौं । वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकरण अभियान) औपचारिक रूपमा खारेज गरिएको छ । गौतमले स्वयं पार्टी खारेजको निवेदन दिएपछि निर्वाचन आयोगले बुधबार उक्त पार्टीलाई दर्ता सूचीबाट हटाएको हो ।
गौतम नेकपा (एकीकृत समाजवादी) हुँदै हालै गठन भएको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि उनले आफ्नो पुरानो पार्टी आवश्यक नरहेको बताउँदै आयोगमा खारेजको निवेदन दिएका थिए ।
निर्वाचन आयोगका अनुसार, सो पार्टी खारेजसँगै नयाँ रूपमा नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको छ । यससँगै आयोगमा दर्ता राजनीतिक दलहरूको कुल संख्या १२५ कायम भएको आयोगले जनाएको छ ।
गौतमले केही वर्षअघि नेकपा विभाजनपछि वाम शक्तिलाई पुनः एक ढिक्का बनाउन लक्ष्यसहित नेकपा एकीकरण अभियानको नेतृत्व गरेका थिए । तर हाल कम्युनिस्ट शक्तिहरू नयाँ एकीकृत संरचनामा प्रवेश गरेपछि उक्त अभियानको औपचारिक अस्तित्व अन्त्य भएको हो ।
प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार











प्रतिक्रिया