काठमाडौं । सरकार र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच आज गृह मन्त्रालयमा औपचारिक वार्ता हुने भएको छ । मन्त्रालयले वार्ताको तयारी पूरा गरेको बताइए पनि प्रसाईं स्वयं वार्तामा उपस्थित नहुने भएका छन् ।
प्रसाईंको समूहका तर्फबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापा मगर, तिजेन्द्र प्रसाद रायमाझी र मकबुल साहलगायत नेताहरू वार्तामा सहभागी हुनेछन् ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दुर्गा प्रसाईं समूहसँग आजको वार्ता तय भएको पुष्टि गरेका छन् । मन्त्रालयले गत कात्तिक १८ गते नागरिक बचाउ महाअभियानका नाममा प्रसाईं समूहलाई पत्र पठाएर वार्ताका लागि औपचारिक निमन्त्रणाको व्यवस्था गरेको थियो ।

advertisement

प्रसाईंको आन्दोलन तयारीमा निगरानी कडा

दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरिसकेका छन् । यसअघि गत चैत १५ गते काठमाडौंको तीनकुनेमा उनले नेतृत्व गरेको आन्दोलन हिंसात्मक बनेको थियो, जसमा तोडफोड, आगजनी र लुटपाटका घटना भएका थिए ।

यसपटकको आन्दोलनका लागि प्रसाईंले नेपाली कांग्रेस बीपीसँग सहकार्य गरेको बताइएको छ । उनले कात्तिक २३ गते सुकुमवासी बस्तीमा आयोजित कार्यक्रममा आगामी आन्दोलनका लागि उक्साउने अभिव्यक्ति दिएका थिए ।

सुरक्षा निकायका अधिकारीहरूका अनुसार प्रसाईंको आन्दोलन पुनः हिंसात्मक बन्न सक्ने आशंका रहेकाले उनी र उनका निकट सहयोगीमाथि निगरानी कडा पारिएको छ ।

यसअघि यही कात्तिक महिनामा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखहरूले प्रसाईंसँग भेटघाट गरी सुरक्षासम्बन्धी सम्भावित जोखिमबारे छलफल समेत गरेका थिए ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com