अजरबैजान । अजरबैजानमा आफ्नो मिसन पूरा गरेर फर्किँदै गरेको टर्कीको एक सैन्य कार्गो विमान मंगलबार जर्जिया र अजरबैजानको सीमाक्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । टर्कीको रक्षा मन्त्रालयले विमानमा सवार सबै २० जना सैनिकको मृत्यु भएको पुष्टि गरेको छ ।

रक्षा मन्त्रालयका अनुसार सी–१३० हरक्युलिस विमान अजरबैजानबाट टर्की फर्कने क्रममा जर्जियाको सिघ्नाघी क्षेत्रमा, अजरबैजान सीमाबाट करिब पाँच किलोमिटर टाढा खसेको हो । उद्धार टोलीहरूले घटनास्थलमा पुगेपछि विमानमा सवार कसैलाई पनि जीवित फेला पार्न नसकेको बताइएको छ ।

advertisement

जर्जियाली हवाई यातायात नियन्त्रक संस्था ‘साकाएरोनाभिगेत्सिया’का अनुसार विमान जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै राडारबाट सम्पर्क टुटेको थियो । उक्त विमानले कुनै पनि आपतकालीन सन्देश पठाएको थिएन ।

टर्कीको रक्षा मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘अजरबैजानमा आफ्नो कर्तव्य पूरा गरेर फर्किरहेको हाम्रो सी–१३० सैन्य कार्गो विमान जर्जिया–अजरबैजान सीमामा दुर्घटनाग्रस्त भएको पुष्टि भएको छ । विमानमा रहेका सबै २० जना हाम्रो उडान दलका सदस्य हुन् ।’

राष्ट्रपति रेसेप तैयप एर्दोगानले दुर्घटनामा ज्यान गुमाएका सैनिकहरूलाई “सहिद” भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले टर्कीले जर्जियाली अधिकारीहरूसँग मिलेर आवश्यक समन्वय र सहयोगका कदम चालिरहेको बताएका छन् । अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले पनि सामाजिक सञ्जाल X मार्फत टर्की सरकार र जनताप्रति संवेदना प्रकट गरेका छन् ।

अजरबैजानी सञ्चारमाध्यमहरूले प्रसारित भिडियो फुटेजहरूमा विमान जमिनमा खस्नुअघि नियन्त्रण गुमाएर घुमिरहेको र त्यसपछि ठूलो विस्फोटसँगै कालो धुवाँको मुस्लो आकाशमा उडेको देखाइएको छ ।

अर्को भिडियोमा विमानको अवशेष खेतमा जलिरहेको देखिन्छ । टर्कीको रक्षा मन्त्रालयले यसबीच सबै सञ्चारमाध्यमलाई दुर्घटनासम्बन्धी दृश्यहरू सार्वजनिक नगर्न आग्रह गरेको छ ।

दुर्घटनाग्रस्त विमान अमेरिकी कम्पनी लकहिड मार्टिन द्वारा निर्मित सी–१३० हरक्युलिस हो, जुन विश्वभर सैन्य कार्गो र राहत उडानका लागि व्यापक रूपमा प्रयोग हुने विमान हो ।

विमान दुर्घटनाको कारण अहिले अनुसन्धान अन्तर्गत छ । टर्की र जर्जियाली अधिकारीहरूको संयुक्त टोलीले प्रारम्भिक जाँच सुरु गरेको र विस्तृत विवरणका लागि केही हप्तासम्म अनुसन्धान जारी रहने जनाइएको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com