काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले सरकारले जिम्मेवारीबाट पन्छिन नपाउने भन्दै भदौ २३ गतेको गोलीकाण्डमा दोषी जोसुकै होस्, सरकार पनि त्यसका लागि जिम्मेवार ठहरिने बताएका छन् ।

बुधबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले भने, ‘भदौ २३ गते १९ जनाको ज्यान जाने गरी गोली चलाइयो, त्यो गलत हो — जसले चलायो, जसको पालामा भयो, दुवै दोषी हुन् । सरकार आफूले जिम्मा नलिने कुरा गर्न मिल्दैन ।’

advertisement

उनले उदाहरण दिँदै थपे, ‘धरहरा बनाउँदा सरकारले गर्वका साथ भन्छ — ‘हाम्रो सरकारले बनायो’। तर जब गोली चल्ने घटना हुन्छ, त्यतिबेला ‘हामीलाई थाहा छैन’ भन्न मिल्दैन । सरकार जिम्मेवार हुन्छ नै।’

पाण्डेले बंगलादेशलगायत देशहरूमा भएका हालका आन्दोलनहरूको सन्दर्भ दिँदै भने, ‘त्यहाँ पहिलो दिनमै यस्तो मानवीय क्षति भएको छैन । तर नेपालमा त्यो रोक्न सरकारले किन सकेन, त्यसको गम्भीर छानबिन हुनुपर्छ।’

उनका अनुसार दोषी जो–जो छन्, प्रमाणका आधारमा कडा कानूनी कारबाही हुनैपर्छ । ‘अपराधी जोगाइयो भने दण्डहीनता बढ्छ,’ उनले चेतावनी दिए ।

भदौ २४ गते भएको अर्को घटनालाई समेत उनले अक्षम्य करार दिए । ‘सिंहदरबार जलाउन पाइन्छ? अदालत वा निजी घर जलाउन पाइन्छ? कसैको सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गर्न मिल्छ? पक्कै पनि मिल्दैन,’ उनले भने ।

उनले थपे, ‘यदि कानुनी शासनलाई बेवास्ता गरियो र जे पनि गर्न पाइन्छ भन्ने सोच फैलियो भने, यो देशमा कसरी शासन चल्छ? अनि देश रहन्छ कसरी?’

उपाध्यक्ष पाण्डेले भदौ २३ र २४ का घटनाहरू एकअर्कासँग प्रत्यक्ष सम्बन्धित रहेको बताउँदै भने, ‘भदौ २३ को घटना नै नभएको भए २४ को पनि सम्भावना हुँदैनथ्यो । त्यसैले दुवै दिनका घटनामा संलग्नहरूलाई निष्पक्षरूपमा कारबाही गर्नुपर्छ — चाहे उनीहरू सरकारसँगै किन नहोस् ।’

उनले अन्त्यमा भने, ‘यदि एमालेका कोही संलग्न छन् भने उनीहरूलाई समेत कारबाही गर्नुपर्छ, हामी त्यसमा पूर्ण समर्थन गर्छौं ।’

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com