काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद तोकेको र राहदानी रोक्का गरेको विषयमा कुनै औपचारिक जानकारी नपाएको बताएका छन् ।

बुधबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सरकार वा कुनै पनि निकायले लिखित वा मौखिक रूपमा जानकारी नदिएको स्पष्ट पारे ।

advertisement

‘आजसम्म मलाई सरकारको कुनै निकायले स्थानहद गरिएको वा राहदानी रोक्का गरिएको बारेमा न त लेखेर जानकारी दिएको छ, न त मौखिक रूपमा भनिएको छ,’ लेखकले बैठकमा भने, ‘कुन कानुन वा ऐनको आधारमा, कुन उद्देश्यका लागि र कति अवधिका लागि यस्तो निर्णय गरियो भन्ने पनि मलाई थाहा छैन ।’

उनका अनुसार करिब दुई महिना अघि आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोकिएको र राहदानी रोक्का गरिएको समाचार माध्यमबाट मात्र थाहा पाएको हो ।

‘सरकारले यस्तो निर्णय गरेको रहेछ भन्ने कुरा मिडियाबाट मात्र सुनेको हुँ,’ उनले भने, ‘तर औपचारिक रूपमा न सोधिएको छ, न जानकारी दिइएको छ ।’

जेनजी आन्दोलनको क्रममा भएको दमनका घटनाबारे पनि लेखकले आफ्नो जिम्मेवारी नकार्दै सुरक्षा संयन्त्रलाई शान्तिपूर्ण रूपमा स्थिति नियन्त्रणमा राख्न निर्देशन दिएको दाबी गरे ।

‘प्रधानमन्त्री वा मन्त्रीले गोली चलाउने आदेश दिने कुरा होइन,’ उनले स्पष्ट पारे, ‘२२ गते साँझको बैठकमै मैले स्पष्ट रूपमा भनेको थिएँ — कुनै पनि हालतमा मानवीय क्षति हुनु हुँदैन । त्यसबारे प्रहरी महानिरीक्षकले पनि सार्वजनिक रूपमा पुष्टि गरिसक्नुभएको छ ।’

लेखकले आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने र दोषी जोसुकै भए पनि कानुनी कारबाही हुनुपर्ने पक्षमा रहेको बताएका छन् ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com