काठमाडौं । नेकपा (माओवादी केन्द्र) का विघटित केन्द्रीय सदस्य ओम शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ त्यागेका छन्। प्रचण्डले माओवादी केन्द्रलाई विघटन गरी नेकपा (एमाले) सँग एकता गर्दै नयाँ नेपाली कम्युनिस्ट पार्टी बनाएको विरोध गर्दै शर्माले आफ्नो सम्बन्ध तोडेका हुन्।
कुनै समय प्रचण्डका नजिकका सहयोगी मानिने शर्मा माओवादी आन्दोलनका पुराना कार्यकर्ता र नेता जनार्दन शर्माका आफन्त हुन्। प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा उनी प्रेस सल्लाहकारको भूमिकामा थिए। पछिल्लो समय उनी पार्टीको एसिया प्रवास संगठन समिति इञ्चार्जका रूपमा जिम्मेवारीमा थिए।
शर्मासँगै केन्द्रीय सदस्य तथा भारत प्रवास इञ्चार्ज लक्ष्मण पन्त, अन्तरमहादेशीय कोषाध्यक्ष सागर पोखरेल, एसिया समिति सदस्य रामहरि पुडासैनी, अन्तरमहादेशीय समिति सदस्य धर्मराज खतिवडा, बाबुराम सापकोटा, नेपाली प्रगतिशील मञ्च बेल्जियमका प्रवक्ता दिल निशानी मगर र अष्ट्रेलियाका महासचिव ई. प्रतिक पोखरेलले पनि प्रचण्डको नेतृत्व त्यागेका छन्।
नेता शर्माले प्रचण्ड नेतृत्वको जीवनशैली र आचरण कम्युनिस्ट मूल्य–मान्यताविपरीत अत्यन्त भड्किलो भएको आरोप लगाएका छन्।
उनले भनेका छन्, ‘पार्टी स्थापनाकालदेखि आजसम्म आर्थिक पारदर्शिता देखाइएको छैन। नेतृत्वमा सत्तालिप्सा, परिवारवाद र विलासी जीवनशैलीले कम्युनिस्ट आन्दोलनको नैतिक धरातल कमजोर बनाएको छ।’
शर्मासहितका नेताहरूले जारी विज्ञप्तिमा लेखेका छन्, ‘यी कारणहरूले गर्दा हामी विभिन्न जिम्मेवारीमा रहेका कार्यकर्ताहरू अब प्रचण्डले माधव नेपालको पार्टीसँग एकता गरेर बनाएको “नेपाली कम्युनिस्ट पार्टी” सँग कुनै सम्बन्ध नराख्ने घोषणा गर्छौं।’
प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार











प्रतिक्रिया