काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य कर्ण थापाले पूर्व उपाध्यक्ष भीम रावल नवगठित नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेसँगै सुदूरपश्चिममा एमालेको पहिलो पुस्ताका नेता अब पार्टीमै नरहेको टिप्पणी गरेका छन्।
बुधबार भीम रावल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्वमा बनेको नयाँ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए। सो घटनापछि थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै सुदूरपश्चिममा एमालेको पहिलो पुस्ता नै अन्ततः पार्टीमा नरहेको उल्लेख गरेका छन्।
थापाले लेखेका छन्, ‘सुदूरपश्चिममा नेकपा एमालेको पहिलो पुस्ता अब हामीसँग रहेन। पछिल्लो पुस्ताको ठूलो हिस्सा पनि जोडिएको छैन, र जोड्न कोही प्रयत्नशील देखिँदैन। बरु पार्टीभित्र रहँदै आएका केही कार्यकर्तालाई समेत हटाउने रहस्यमय प्रयासहरू भइरहेका छन्।’
उनले पार्टीका पुराना सहयोद्धा र सहकर्मीहरू एकपछि अर्को गर्दै बाहिरिँदा गहिरो पीडा महसुस भएको बताएका छन्। ‘दशकौँसम्म सँगसँगै संघर्ष गरेका नेताहरू पार्टी छाड्दा मन चसक्क हुन्छ,’ उनले लेखेका छन्।
थापाले मतभिन्नता र आन्तरिक विवादलाई स्वाभाविक भने पनि नियोजित रूपमा कसैलाई पार्टीमा बस्न नदिने प्रवृत्ति अस्वीकार्य भएको टिप्पणी गरे। ‘पार्टीभित्र विचार–असहमति र मतभिन्नता स्वाभाविक हुन्, तर जानाजान कसैलाई टाढा पार्ने व्यवहार कुनै दृष्टिकोणले पनि उचित हुन सक्दैन,’ उनले भनेका छन्।
प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार











प्रतिक्रिया