काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले देशको राष्ट्रिय सुरक्षा अवस्था अत्यन्त कमजोर बनेको आरोप लगाएका छन्। बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले हालै शक्तिशाली मुलुकको सेनाको जहाज सयौँ टन सामग्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा पनि सरकार त्यसबारे मौन बस्नु गम्भीर विषय भएको बताए।

रावलले प्रश्न गरे, ‘तीन दिनअघि मात्रै एउटा शक्तिशाली देशको सेनाको ठूलो जहाज सयौँ टन सामान ल्याएर काठमाडौंको विमानस्थलमा ओर्लियो। त्यो किन आयो, के उद्देश्यले आयो, सरकारसँग जवाफ छ?’ उनले पारदर्शिताको कुरा गर्ने सरकारले नै यस्तो संवेदनशील विषयमा कुनै स्पष्टीकरण नदिएको आरोप लगाए।

advertisement

उनका अनुसार आफूले गत पुसदेखि जेठसम्म विमानस्थलमा नियमित रूपमा विदेशी सैन्य उडानहरू आएको देखेको भए पनि सरकार वा सम्बन्धित निकायबाट कुनै जानकारी सार्वजनिक गरिएको छैन।
‘कति पटक त्यस्ता जहाजहरू ओर्ले, तर न सरकारलाई जानकारी, न जनतालाई,’ उनले भने।

रावलले यस्ता गतिविधिबारे सरकार अनभिज्ञ रहँदा नै भदौ २३ र २४ का घटनाजस्ता विनाशकारी अवस्था निम्तिएको उल्लेख गरे।

‘नेपालको इतिहासमा पृथ्वीनारायण शाहको एकीकरणपछिको सबैभन्दा ठूलो क्षति हामीले भदौ २३ र २४ मा देख्यौं,’ उनले भने, ‘व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र नेताहरूका घर खरानी हुने अवस्था आयो, तर सरकारले सिकाइ लिँदैन।’

उनले नेतृत्व तहले अब गम्भीरतापूर्वक राष्ट्रिय सुरक्षाको समीक्षा र सुधारमा ध्यान दिनुपर्नेमा जोड दिए। ‘यदि वर्तमान नेतृत्वले यो विषयलाई गम्भीरताका साथ नलिए, भने अब नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सुरक्षाको रणनीतिक पुनर्विचारका लागि पहल गर्नुपर्ने हुन्छ,’ रावलले चेतावनी दिएका छन्।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com