काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (एकीकृत) का सह-संयोजक माधवकुमार नेपालले वामपन्थी शक्तिहरूबीच सुरु गरिएको एकता अभियानले देशको राजनीतिमा नयाँ तरंग पैदा गरेको बताएका छन्।
बुधबार राष्ट्रिय सभागृहमा नेता डा. भीम रावलको समूहलाई पार्टीमा स्वागत गर्ने कार्यक्रममा बोल्दै सह-संयोजक नेपालले भने, “यो एकताको अभियानले नेपालको राजनीतिमा तरंग पैदा गरेको छ। कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरूको त सातो गएको हुनुपर्छ, उनीहरूको होस-हवास नै गुमेको हुनुपर्छ।”
उनले वामपन्थी एकता अभियानबाट आत्तिएका केही शक्तिहरूको मानसिक सन्तुलन नै गुमेको भन्दै, गालीगलौजको सट्टा सुधारको प्रयासलाई स्वागत गर्न आग्रह गरे। उनकाे कटाक्ष विशेषगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित थियो।
नेपालले भने, “होस गुमाउनु आवश्यक छैन, गालीगलौजमा उत्रिनु पनि आवश्यक छैन। बरु हामीलाई धन्यवाद दिनुहोस्। मैले त बिगारेँ, तपाईंहरूले सपार्दै हुनुहुन्छ भनेर धन्यवाद प्रस्ताव पास गरे हुन्छ।”
उनले विगतका गल्तीहरूबाट पाठ सिक्दै नयाँ पार्टीलाई विकृति र विसंगतिबाट मुक्त राख्नुपर्नेमा जोड दिए। उनका अनुसार, २०७५ जेठ ३ गते भएको तत्कालीन नेकपाको एकता ऐतिहासिक भए पनि त्यसलाई जोगाउन नसकिएको तितो यथार्थ आज पनि स्मरणीय छ।
नेपालले थपे, “एकता गर्न सजिलो छ, तर त्यसलाई बलियो बनाउन धेरै कुरामा विचार पुर्याउनुपर्छ।”
पार्टी र नेताहरूमा देखिएका विकृतिबारे निर्मम समीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले भने, “यदि हामीले आफूलाई सुधारेनौँ भने नयाँ बोतलमा पुरानो रक्सी भन्ने भनाइ दोहोरिन बेर लाग्दैन।
प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया