काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले वामपन्थी शक्तिहरूबीचको एकता अभियानले देशको राजनीतिमा नयाँ तरंग पैदा गरेको बताएका छन्।

उनले यसबाट आत्तिएका केही शक्तिहरूको ‘होस-हवास’ नै गुमेको टिप्पणी गरे। उनले गालीगलौजमा उत्रिनुको सट्टा कम्युनिष्ट आन्दोलनलाई सच्याउने अभियानमा लागेकोमा आफूहरूलाई धन्यवाद दिन विपक्षीहरूलाई आग्रह गरे। विशेषगरि उनकाे कटाक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति लक्षित थियो।

advertisement

बुधबार राष्ट्रिय सभागृहमा आयोजित नेता डा. भीम रावलको समूहलाई पार्टीमा स्वागत गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै सह-संयोजक नेपालले भने, ‘यो एकताको अभियानले नेपालको राजनीतिमा तरंग पैदा गरेको छ। कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरूको त सातो गएको हुनुपर्छ, उनीहरूको होस-हवास नै गुम भएको हुनुपर्छ।’

उनले आलोचना गर्नेहरूलाई लक्षित गर्दै भने, ‘होस गुमाउनु आवश्यक छैन, गालीगलौजमा उत्रिनु पनि आवश्यक छैन। बरु हामीलाई धन्यवाद दिनुहोस्। मैले त बिगारेँ, तपाईंहरूले सपार्दै हुनुहुन्छ भनेर धन्यवाद प्रस्ताव पास गरे हुन्छ।’

नेता नेपालले विगतका गल्तीहरूबाट पाठ सिक्दै नयाँ पार्टीलाई विकृति र विसंगतिबाट मुक्त राख्नुपर्नेमा जोड दिए। उनले २०७५ जेठ ३ गते भएको तत्कालीन नेकपाको एकता ऐतिहासिक भए पनि त्यसलाई जोगाउन नसकिएको तितो यथार्थ स्वीकार गरे।

‘एकता गर्न सजिलो छ, तर त्यसलाई बलियो बनाउन धेरै कुरामा विचार पुर्‍याउनुपर्छ,’ उनले भने।

पार्टी र नेताहरूमा देखिने विकृतिमाथि निर्मम समीक्षा हुनुपर्ने बताउँदै उनले भने, ‘यदि हामीले आफूलाई सुधारेनौँ भने नयाँ बोतलमा पुरानो रक्सी भन्ने भनाइ दोहोरिन बेर लाग्दैन।’

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com