भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरुको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले मेसिन जडान गरिएको हो ।
गाउँपालिकाले हालसम्म बाह्र सामुदायिक विद्यालयमध्ये नौ  विद्यालयमा मेसिन जडान गरिसकेको र बाँकी विद्यालयमा चाँडै जडान गरिने गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिए ।
“अघिल्ला वर्षमा हामीले विद्यालयमा सेनेटरी प्याड पठाउने गथ्र्यौं,” अध्यक्ष राई भने, “तर धेरै छात्राले लाजका कारण मागेर प्रयोग गर्न हिचकिचाउने गर्थे । अब यो मेसिनबाट उनीहरूले सहजै र गोप्य रूपमा आफैँले लिन सक्नेछन् ।”
गाउँपालिकाले पहिलो चरणमा सात माध्यमिक विद्यालय र पाँच आधारभूत विद्यालयमा यस्तो मेसिन जडान गर्ने योजना बनाएको छ । मेसिनमार्फत कार्ड प्रणालीको प्रयोग गरी छात्राले आवश्यक सेनेटरी प्याड विद्यालयमा नै लिन सक्नेछन् ।
शिक्षा शाखाका अनुसार, महिनावारीका कारण छात्राको विद्यालयमा उपस्थिति दर घट्ने समस्या समाधान गर्न यो योजना प्रभावकारी हुनेछ । मेसिन जडान भएपछि छात्रालाई आत्मसम्मानका साथ विद्यालय आउन सहयोग पुग्ने शाखाले जनाएको छ । विद्यालयमा नै प्याड वितरण भएसँगै छात्राको उपस्थितिको दर बढ्ने शाखाको विश्वास छ । गाउँपालिकाले आगामी चरणमा अन्य विद्यालयमा यस्ता मेसिन जडान गर्ने, साथै विद्यार्थीका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com