काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पदमा पुगेका दानबहादुर कार्कीले आजदेखि औपचारिक रूपमा प्रहरी संगठनको कमाण्ड सम्हाल्ने भएका छन् ।
प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि तत्कालीन महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएका थिए । त्यससँगै कार्कीलाई मन्त्रिपरिषद्ले २५ कात्तिकमा नेपाल प्रहरीको नयाँ आईजीपीका रूपमा नियुक्त गरेको थियो ।
नवनियुक्त आईजीपी कार्कीले आज बिहान गृहमन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेपछि प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित औपचारिक समारोहमार्फत पदभार सम्हाल्ने कार्यक्रम तय भएको छ ।
२४ भदौमा ‘जेनजी आन्दोलन’का बेला काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेका कार्की त्यसअघि मानव स्रोत तथा साधन विभागका प्रमुख थिए । २३ भदौमा उपत्यका कमाण्ड एआईजीविहीन भएपछि तत्कालीन गृहमन्त्रालयले उनलाई जिम्मेवारी तोकेको थियो ।
डीआईजी हुँदा उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए भने एसएसपीका रूपमा काठमाडौं प्रहरी परिसरको नेतृत्व गरेका थिए । त्यही समयमा चर्चित भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएको थियो ।
अनुशासित, इमान्दार र पेशाप्रति समर्पित प्रहरी अधिकृतका रूपमा परिचित कार्कीले फील्ड कमाण्डदेखि आईजीपी सचिवालयसम्मको विविध अनुभव बटुलेका छन् ।
कुनै पनि आर्थिक वा प्रशासनिक विवादमा नपरेका उनले विदेशमा विभिन्न सुरक्षा र नेतृत्व सम्बन्धी तालिम पनि लिएका छन् । कार्कीले एक समय नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारीसमेत वहन गरेका थिए ।
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार











प्रतिक्रिया