काठमाडौं । शिक्षामन्त्री महावीर पुनले डा. निकोलस भुसालको पछिल्लो ‘सालका रुख बाँडेर हरेक नेपालीलाई करोडपति बनाउने’ भनाइप्रति तीखो व्यङ्ग्य गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मन्त्री पुनले भुसालको योजनालाई ‘अव्यावहारिक कल्पना’ भन्दै हावामा उडेको विचारको संज्ञा दिएका छन्। उनले लेखेका छन्, ए बल्ल थाहा भयो निकोलस भाइले कसरी हरेक नेपालीलाई एक करोडपति बनाउने रहेछ भन्ने कुरा—हरेक नेपालीलाई १२ वटाको दरले सालको रुख बाँडिदिने रे! त्यसो गर्दा नेपालको पर्यावरण के हुन्छ? ३६ करोड सालको रुख कहाँ बेच्ने? १०० प्रतिशत हावा कुरा कसले पत्याउँछ?
मन्त्री पुनको यो व्यङ्ग्यात्मक पोस्ट अहिले सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ। केही प्रयोगकर्ताले पुनको शैली र प्रश्नलाई यथार्थपरक बताएका छन् भने अरूले डा. भुसालको योजनालाई नवप्रवर्तनको दृष्टिले बुझिनुपर्ने टिप्पणी गरेका छन्।
डा. निकोलस भुसालले हालै हरेक नेपालीलाई दीर्घकालीन रूपमा आर्थिक रूपमा सबल बनाउन वनजंगल र प्राकृतिक स्रोतको उपयोग गर्ने प्रस्ताव सार्वजनिक गरेका थिए। उनका अनुसार सालका रुखको व्यवस्थित व्यवस्थापन र मूल्यवृद्धिबाट नागरिकलाई करोडपति बनाउने सम्भावना रहेको थियो।
तर मन्त्री पुनको प्रतिक्रियापछि सामाजिक सञ्जालमा समर्थन र विरोध दुवै किसिमका बहस चर्किएका छन्। पुनका समर्थकहरूले अव्यावहारिक योजनामाथि ठोस प्रश्न उठाउनु उचित बताएका छन् भने भुसालका पक्षधरहरूले नवीन सोचलाई व्यङ्ग्य होइन, प्रोत्साहन चाहिएको भन्दै मन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।
यसअघि पनि शिक्षामन्त्री पुन आफ्ना स्पष्ट र निडर भनाइका कारण पटक–पटक चर्चामा आउने गरेका छन् , कहिले आलोचनाको केन्द्र बनेर, कहिले प्रशंसाका साथ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया