काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले वर्तमान सरकार र विशेषगरी गृह मन्त्रालयको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले गृह मन्त्रालयले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै गुनासो व्यक्त गरेका हुन् ।

उनका अनुसार, आफूहरूले केवल अनुहार परिवर्तनका लागि होइन, पुरानो शासन–प्रशासनको ढाँचा नै बदल्ने उद्देश्यले आन्दोलन गरेका थिए । तर, अहिलेको सरकार त्यस दिशामा अघि बढ्न नसकेको उनको टिप्पणी छ ।

advertisement

गृहमन्त्रीको कामप्रति प्रश्न उठाउँदै गुरुङले भने, ‘गृहमन्त्रीले आफ्नो क्षमताअनुसार काम गर्न सके राम्रो हुन्थ्यो, तर अपेक्षित परिणाम आएको छैन । यदि काम गर्न नसक्ने हो भने वैकल्पिक सोच आवश्यक छ ।’

उनले जनताको भरोसा जित्ने र राम्रो काम गरेर विश्वास कायम गर्नुपर्ने बताए । ‘जनताले परिवर्तनका लागि साथ दिएका थिए, तर अहिले त्यो विश्वासमा चिसोपना आएको छ,’ गुरुङले भने ।

गुरुङका अनुसार, गृह मन्त्रालयले सुरुवाती चरणमा केही सकारात्मक पहल गरे पनि पछिल्लो समय मन्त्रालयभित्रैको संगठनात्मक असहयोगका कारण काम अघि बढ्न सकेको छैन ।

उनले वर्तमान सरकार केवल केही व्यक्तिको नभई ‘सबै जेनजी आन्दोलनकारी र जनताको साझा सरकार’ भएकोले त्यसले समावेशी र उत्तरदायी ढंगले काम गर्नुपर्नेमा जोड दिए ।

गुरुङले जेनजी आन्दोलनको मूल उद्देश्य सक्षम र इमान्दार व्यक्तिलाई जिम्मेवारीका स्थानमा पुर्‍याउने रहेको स्मरण गराउँदै त्यस दिशामा ठोस कदम चालिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com